२०८२ साउन १८, आईतबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षापिजी कमन इन्ट्रान्स दशैं अगावै, नर्सिङको लाइसेन्स परीक्षा मंसिरसम्ममा हुने

पिजी कमन इन्ट्रान्स दशैं अगावै, नर्सिङको लाइसेन्स परीक्षा मंसिरसम्ममा हुने


काठमाडौं—राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सातर्फको पोष्ट ग्राजुएट अध्ययन गर्ने विद्यार्थीको कमन प्रवेश परीक्षा दशै अगावै गर्ने गरी तयारी गरेको आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले जानकारी दिएका छन् ।

बिहिबार नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसनले आयोगजना गरेको वेवमिनारमा परीक्षाको लागि आन्तरिक तयारी भइरहेको र यही हप्ता भित्र सार्वजनिक सूचना निकाल्ने तयारी भइरहेको उनले बताए ।

‘आयोगको एकेडेमिक क्यालेन्डरअनुसार जेठमा परीक्षा गर्ने तयारी गरेका थियौं,’ उनले भने, ‘तर, कोभिडको कारण तत्काल गर्न नसकिएको हो ।’ जाँच लिनुअघिको सिट बाँडफाँड, नियमावली र कार्यसूची तयार भइसकेका छन् । ‘आन्तरिक कार्यविधीहरु तय ग¥यौ । आयोगको तर्फबाट हेर्दा नोटिस निकाल्ने तयारीमा छौं । आगामी हप्तामा नोटिस निकाल्छौं,’ उनले थपे, ‘घटस्थापना अघि परीक्षा दिएर सक्छौं ।’

नर्सिङ लाइसेन्स परीक्षा मंसिर १३ अगावै

सोही कार्यक्रममा नर्सिङ काउन्सिलकी अध्यक्ष प्राध्यापक गोमा निरौलाले आगामी मंसिर भित्रमा लाइसेन्स परीक्षा लिने तयारीमा काउन्सिल रहेको जानकारी दिइन् । ‘हाम्रो क्यालेन्डरअनुसार असार २० गते परिक्षा हुनुपथ्र्यो,’ उनले भनिन्, ‘कोभिडको कारण हुन सकेन । क्यालेन्डरअनुसार अब अर्को परीक्षा मंसिरको १३ गते हुनुपर्छ, हामी सो समयसम्म जसरी पनि गर्ने तयारी गरेका छौं ।’

उनले काठमाडौं उपत्यकासहित देशको विभिन्न भागमा परीक्षा केन्द्र तोकेर परीक्षा लिइने तयारीमा रहेको बताइन् । तर, संख्या बढी भएका कारण व्यवस्थापन चुनौती रहेको उनको भनाइ छ । अबको परीक्षामा ३ हजार ५ सय बढी परिक्षार्थी हुने आँकलन काउन्सिलले गरेको छ ।

भोलि हुने परीक्षाले अन्य परीक्षाको निर्धारण गर्छ : डा कोइराला

मेडिकल काउन्सिका अध्यक्ष डा भगवान कोइरालाले शनिबार देशभरका १६ केन्द्रबाट हुँदै गरेको एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षाका आधारमा अन्य परीक्षा गर्नका लागि मार्गनिर्देशन हुने बताए । उनले यो परीक्षा सफल हुनासाथ पोस्ट ग्राजुएटको परीक्षा संचालन गर्ने तयारीमा काउन्सिल रहेको बताए ।

डा. कोइरालाले परीक्षामा सामेल हुने विद्यार्थीलाई परीक्षा केन्द्रसम्म आउनका लागि अवरोध नगर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालयमार्फत परिपत्र पनि भइसकेको जानकारी दिए । बेबमिनारमा बोल्दै डा. कोइरालाले परिक्षार्थीलाई धैर्य र संयमित भएर परीक्षा दिन समेत आव्हान गरे । ‘हामी ठूलो जोखिम मोलेर अप्ठ्यारो अवस्थामा विकेन्द्रित परीक्षा गर्दैछौं,’ उनले भने ‘यदि अहिले जो कोही पनि मर्यादित र इमान्दार भएन भने परीक्षा त रोकिन्छन् नै ठूलो अवसरबाट पछि परिन्छ ।’

काठमाडौं विश्वविद्यालयका मेडिकल डिन प्रा.डा. राजेन्द्र कोजुले केयुले अनलाइनबाट लिन सकिने सैद्धान्तिक परीक्षा र थोरै संख्यामा सहभागी गराउन सकिने सैद्धान्तिक परीक्षा क्रमसः गर्दै लैजाने तयारी गरेको जानकारी दिए । फाइनल इयरमा पुगेकालाई बीचको केही खुकुलो भएका बेला परीक्षा लिएर इन्टर्नसीपमा पठाइ सकिएको उनले बताए । उनले बीचमा अध्ययन गरिरहेकालाई परीक्षा नभएकै आधारमा अर्को सेमेस्टर अध्ययनका लागि नरोकिएको बताए । ‘एकेडेमिक इयर रोकिएको छैन्,’ डा. कोजुले भने ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ डिन प्राध्यापक सरला केसीले सैद्धान्तिक परीक्षा लिन सकिएपनि प्रयोगात्मक परीक्षाका लागि समस्या भइरहेको बताइन् ।

नेशनल मेडिकल एशोसिएसनका अध्यक्ष डा. मिलन गैरेले कोभिड—१९ का कारण समयमा परीक्षा नहुँदा विद्यार्थीहरुमा अन्योलता सिर्जना भएको बताए । उनले सँगै पढेका केही साथीहरुले डिग्री हासिल गरिसकेको र केहीले परीक्षा दिन नपाएर त्यतिकै बस्नुपर्दा मानसिक तनाव पनि झेल्नुपरेको बताए ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ