२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णालीमा डा. रावल र पोखरामा डा. क्षेत्री उपकुलपति नियुक्त

कर्णालीमा डा. रावल र पोखरामा डा. क्षेत्री उपकुलपति नियुक्त


काठमाडौं –एक महिनादेखि खाली रहेका तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये दुई वटामा उपकुलपतिको नियुक्ति भएका छन् । आइतबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेस त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा उपकुलपति नियुक्त गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा एक नम्बरमा सिफारिसमा परेका डा. मंगल रावललाई नियुक्त गरेका छन् । त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् ।

सिफारिस समितिले कर्णालीका लागि एक नम्बरमा डा. रावल, दुई नम्वरमा प्रा.डा. रेशम राना र तीन नम्बरमा डा. पुजनकुमार रोकायालाई सिफारिस गरेको थियो । डा. रावल यसअघिका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेको समयावधि सकिएपछि कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आगामी ४ वर्षको कार्यकालको लागि डा. डुकबहादुर क्षेत्री नियुक्त भएका छन् । सर्च कमिटीले डा. क्षेत्रीको एक नम्बर, प्रा.डा. श्रीकृष्ण श्रेष्ठको दुई नम्बरमा र *प्रा.डा. भरतबहादुर खत्री तीन नम्बरमा नाम सिफारिस गरेको थियो ।

सिफारिस समितिले यसअघि तीन-तीन जनाको नाम सिफारिस गरेको थियो। कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले उनीहरुलाई आइतबार नियुक्त्ति गरेका हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने उपकुलपति नियुक्त हुन बाँकी छ। पाटनका लागि सर्च कमिटीले एक नम्बरमा डा. राजेशनाथ गंगोल, दुई नम्बरमा प्रा.डा. दानबहादुर कार्की र तीन नम्बरमा प्रा.डा. अनिलकुमार मिश्रको नाम सिफारिस  गरेको छ ।

यो पनि पढ्नुस् 

कर्णालीका मानक डा. मंगल : जो ३७ वर्षमा बने भिसी 

*यसअघि प्रा.डा. भरतबहादुर खत्री हुनुपर्नेमा अन्याथा भएकाले सच्चाइएको छ । (सम्पादक)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ