२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगन्जको फुलटेग्रामा दादुरा आउटब्रेक, १७ जना बालबालिकामा दादुरा देखियो

नेपालगन्जको फुलटेग्रामा दादुरा आउटब्रेक, १७ जना बालबालिकामा दादुरा देखियो

सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्यमा चुनौती


नेपालगन्ज—नेपालगन्जको फुलटेग्रामा ५ देखि १२ वर्ष उमेरका १७ जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । संक्रमण देखिएका अधिकांश बालबालिका मुस्लिम र मधेशी समुदायका छन् ।

दादुरा सरुवा रोग भएका कारण संक्रमण देखिएका बिरामी खोक्दा, खानेकुराहरु बाँडेर खाँदा, एउटै कपडा पालैपालो गरेर प्रयोग गर्दा अन्य व्यक्तिमा सर्छ । दादुरा संक्रमण भएका बालबालिकाहरुमा ज्वरो आउनु र शरीरमा राता बिमीरा देखा पर्ने , नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखा रातो हुने, अँँखा पाक्नेजस्ता लक्षण देखिन्छ ।

समयमै उपचार नहुँदा दादुराको संक्रमणबाट बालबालिकाको मृत्यु हुने जोखिम पनि हुन्छ । विशेष गरी कुपोषित बालबालिकाहरुमा दादुरा संक्रमण भयो भने मृत्यु हुने जोखिम हुन्छ ।

संक्रमण देखिएका अधिकांश बालबालिकाले स्वास्थ्य संस्थाहरुले नियमित रुपमा निःशुल्क रुपमा उपलब्ध गराउदै आएको दादुरा विरुद्धको खोप नलगाएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए ।

स्वास्थ्य संस्थाहरुले ९ महिना र १५ महिनाको उमेरमा दुई पटक बालबालिकाहरुलाई निःशुल्क दादुरा विरुद्ध खोप दिदै आएका छन् ।

दादुराको संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बाँकेले संक्रमितमध्ये ५ जनाको रगतको नमुना संकलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । परिक्षणका लागि पठाएका ५ मध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो ।

खोप सुरपरभाइजर श्रेष्ठका अनुसार परिक्षणका क्रममा ५ मध्ये ४ जनामा संक्रमण पुष्टि भएपछि संक्रमण देखिएका १७ जनामै दादुरा भएको मानिन्छ । दादुरा संक्रमण भए—नभएको एकिन गर्नका लागि रगत र पिसाबको परिक्षण गरिन्छ । रगत परिक्षण गर्दा दादुराको संक्रमण देखिएको एक सातापछि पिसाबको परीक्षण गरिने खोप सुरपरभाइजर श्रेष्ठले बताए ।

संक्रमित बालबालिकाहरुलाई विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति रमन पाललगायतका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य चेक जाँच गरी भिटामिन ए क्याप्सुललगायतका औषधीहरु उपलब्ध गराएको छ ।

संक्रमित बालबालिकाहरुको थप स्वास्थ्य परीक्षण र उपचारका साथै संक्रमण नियन्त्ररणका लागि नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखा, जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रयासमा पहल भइहेको छ । बाँकेमा १७ जनामा एकै साथ दादुराको संक्रमण देखिएपछि सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ