२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्जको फुलटेग्रामा दादुरा आउटब्रेक, १७ जना बालबालिकामा दादुरा देखियो

नेपालगन्जको फुलटेग्रामा दादुरा आउटब्रेक, १७ जना बालबालिकामा दादुरा देखियो

सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्यमा चुनौती


नेपालगन्ज—नेपालगन्जको फुलटेग्रामा ५ देखि १२ वर्ष उमेरका १७ जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । संक्रमण देखिएका अधिकांश बालबालिका मुस्लिम र मधेशी समुदायका छन् ।

दादुरा सरुवा रोग भएका कारण संक्रमण देखिएका बिरामी खोक्दा, खानेकुराहरु बाँडेर खाँदा, एउटै कपडा पालैपालो गरेर प्रयोग गर्दा अन्य व्यक्तिमा सर्छ । दादुरा संक्रमण भएका बालबालिकाहरुमा ज्वरो आउनु र शरीरमा राता बिमीरा देखा पर्ने , नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखा रातो हुने, अँँखा पाक्नेजस्ता लक्षण देखिन्छ ।

समयमै उपचार नहुँदा दादुराको संक्रमणबाट बालबालिकाको मृत्यु हुने जोखिम पनि हुन्छ । विशेष गरी कुपोषित बालबालिकाहरुमा दादुरा संक्रमण भयो भने मृत्यु हुने जोखिम हुन्छ ।

संक्रमण देखिएका अधिकांश बालबालिकाले स्वास्थ्य संस्थाहरुले नियमित रुपमा निःशुल्क रुपमा उपलब्ध गराउदै आएको दादुरा विरुद्धको खोप नलगाएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए ।

स्वास्थ्य संस्थाहरुले ९ महिना र १५ महिनाको उमेरमा दुई पटक बालबालिकाहरुलाई निःशुल्क दादुरा विरुद्ध खोप दिदै आएका छन् ।

दादुराको संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बाँकेले संक्रमितमध्ये ५ जनाको रगतको नमुना संकलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । परिक्षणका लागि पठाएका ५ मध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो ।

खोप सुरपरभाइजर श्रेष्ठका अनुसार परिक्षणका क्रममा ५ मध्ये ४ जनामा संक्रमण पुष्टि भएपछि संक्रमण देखिएका १७ जनामै दादुरा भएको मानिन्छ । दादुरा संक्रमण भए—नभएको एकिन गर्नका लागि रगत र पिसाबको परिक्षण गरिन्छ । रगत परिक्षण गर्दा दादुराको संक्रमण देखिएको एक सातापछि पिसाबको परीक्षण गरिने खोप सुरपरभाइजर श्रेष्ठले बताए ।

संक्रमित बालबालिकाहरुलाई विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति रमन पाललगायतका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य चेक जाँच गरी भिटामिन ए क्याप्सुललगायतका औषधीहरु उपलब्ध गराएको छ ।

संक्रमित बालबालिकाहरुको थप स्वास्थ्य परीक्षण र उपचारका साथै संक्रमण नियन्त्ररणका लागि नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखा, जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रयासमा पहल भइहेको छ । बाँकेमा १७ जनामा एकै साथ दादुराको संक्रमण देखिएपछि सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ