२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जीवित शिशु मृत घोषणा प्रकरणः छानविन समितिले बुझाएको प्रतिवेदनमा के छ ?

जीवित शिशु मृत घोषणा प्रकरणः छानविन समितिले बुझाएको प्रतिवेदनमा के छ ?


विराटनगर–कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानविन गर्न गठन भएको समितिले छानविन प्रतिवेदन अस्पताल प्रशासनलाई बुझाएको छ । बिहीबार अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको संयोजकत्वमा, डा. सुर्यकान्त चौधरी र अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालसहितको छानविन समितले अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवलाई प्रतिवेदन बुझाएको हो ।

श्वासप्रश्वासमा समस्या भएर अस्पताल उपचार गराइरहेकी मोरङको जहदा गाउँपालिका–३ भातिगन्जकी खुसी मुखियालाई जीवितै रहेको अवस्थामा अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा. आकाश यादवसहित अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीले गत बिहीबार विहान मृत घोषणा गरिदिएका थिए । जीवित शिशुलाई मृत घोषणा गरेर गम्भीर लापरबाही गरेको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपातसमेत गरेका थिए । घटनालगत्तै डा. प्रवीण झाको संयोजकत्वमा तीन सदस्य समिति गठन भएको थियो ।

सो समितिले जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई प्रतिवदेन नआउन्जेलसम्मका लागि कामकाजमा रोक लगाएको थियो । अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझी तथा चिकित्सक आकाश यादवलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै काममा रोक लगाइएको थियो ।

आफूहरूले पूर्ण रूपमा प्रतिवेदनको काम सकेर अस्पताललाई बुझाइसकेको सूचना अधिकारी नेपालले बताए । प्रतिवेदन बुझेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले बताए । मन्त्रालयले प्रतिवेदन हेरेपछि थप प्रक्रिया त्यहाँको निर्देशनअनुसार अगाडि बढने उनले बताए ।

के छ छानविन प्रतिवेदनमा ?

अस्पताल प्रशासनलाई छानविन समितिले बुझाएको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीहरु गम्भीर दोषी नदेखिएको समितिको निष्कर्ष छ । चिकित्सक डा. यादव र पारामेडिक्स अफिसर अधिकारी र माझीको लापरवारी नदेखिएपछि शुक्रबारदेखि कामकाजमा खटिने अस्पतालका सूचना अधिकारी नेपालले बताए ।

‘शिशुलाई इमर्जेन्सी वार्डमा देखाउँदा अक्सिजनको लेभल एकदमै न्युन रहेका कारण बच्चीको मुटुको चाल अन्त्यन्त कमजोर भएको उपचार संलग्न चिकित्सकले भनेका रहेछन् । चिकित्सकले बच्चाको चाल नभएको बताएपछि आफन्तले तत्कालै दाह संस्कारका लागि घर लगेका रहेछन् । चिकित्सकले बच्चाको मृत्यु भयो भनेर भनेका रहेनछन्, यो कुरा शिशुका बुबाले पनि स्वीकार गरिसकेका छन् । अत्तालिएका आफन्तले बच्चा मरेको ठानेर तत्काल लिएर गएछन्,’ छानविन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन बनाउँदा पीडित, चिकित्सक र स्वास्थ्यकर्मीलगायत सबै पक्षको भनाइ समिटएको छ । शिशुका बुबाले चिकित्सकको केही दोष नभएको पनि बताएको छानविन समितिमा सदस्य तथा अस्पतालका सूचना अधिकारी नेपालले बताए ।

चिकित्सकले बच्चाको चाल नभएको भनेपछि उनीहरूले दाह संस्कार गर्ने उद्देश्यका साथ घर पु¥याएका थिए । घर पुगेको पाँच मिनेटपछि शिशुको पेट चल्न थालेको र लगत्तै गोल्डेन अस्पताल लगिएको प्रतिवेदनमा उल्लेख छ । तर, खुसीको एक सातापछि मंगलबार बिहान साढे १० बजे मृत्यु भएको थियो । मृत्युपछि उपचार खर्च बुझाएर आफन्तले सद्गदसमेत गरिसकेका छन् ।

छानविन समितिले प्रतिवेदन बनाउँदा गोल्डेनका बालरोग विशेषज्ञ डा.सतिश यादवको भनाइ पनि समावेश गरेको कोशी अस्पतालका सूचना अधिकारीसमेत रहेका नेपालको भनाइ छ । ‘हामीले गोल्डेनका चिकित्सकको धारणा पनि समेट्यौं । जसक्रममा उहाँले नाजुक अवस्थाकी शिशुको ढुकढुकी मात्र बाँकी रहेको सुनाउनुभयो,’ उनले भने, ‘यसैले पनि उपचारमा संलग्न कोशीका चिकित्सकको गम्भीर दोष नदेखिएको स्पष्ट हुन्छ ।’

शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मिर्गौलाले काम नगरेको तथा इन्फेक्सन बढेकोलगायतका समस्या देखिएको थियो । आगामी दिनमा भने चिकित्सकले स्वास्थ्यजस्तो संवेदनशील विषयमा सचेत भई गम्भीर रूपमा काम गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ