२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतको पञ्चपुरीमा स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नती गर्ने तयारी

सुर्खेतको पञ्चपुरीमा स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नती गर्ने तयारी


वीरेन्द्रनगर—सुर्खेतको पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती गर्ने तयारी भएको छ । स्वास्थ्य केन्द्रमा शैय्या थपेर अस्पतालका स्तोरन्नती गर्न लागिएको हो ।

संघीय सरकारको लगानीमा १५ शैय्याको अस्पताललाई प्रदेश सरकारको लगानीमा ५० शैय्याको अस्पताल निर्माणको प्रक्रिया थालिएको छ । ५० शैय्या थप्नेसँगै स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाका इन्जिनियर नरेन्द्र भण्डारीले बताए । ‘भवन निर्माणको प्रगति ८५ प्रतिशत भएको छ,’ उनले भने, ‘७२ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।’

नेपाल सरकारले १५ मंसिर २०७७ मा देशभर रहेका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । कुल १८ करोड रुपैयाँ लागतमा भवन तयार हुन लागेको छ ।

हालसम्म १३ करोड ६० लाख रुपैयाँ बजेट कार्यान्वयन भएको पालिकाले जनाएको छ ।

आउँदो जेठसम्म नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी थालिएको स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक राजेन्द्र अधिकारीले बताए । ‘नयाँ दरबन्दी सिर्जना गरेर आधारभूत अस्पतालबाट सेवा दिने गरी तयारी थालिएको छ,’ उनले भने, ‘नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्यअनुसार अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ ।’

अस्पताल निर्माण योजना बहुवर्षीयमा नगएको र स्रोत सुनिश्चित नहुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । अस्पतालका लागि यो वर्ष पनि तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ