२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतको पञ्चपुरीमा स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नती गर्ने तयारी

सुर्खेतको पञ्चपुरीमा स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नती गर्ने तयारी


वीरेन्द्रनगर—सुर्खेतको पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती गर्ने तयारी भएको छ । स्वास्थ्य केन्द्रमा शैय्या थपेर अस्पतालका स्तोरन्नती गर्न लागिएको हो ।

संघीय सरकारको लगानीमा १५ शैय्याको अस्पताललाई प्रदेश सरकारको लगानीमा ५० शैय्याको अस्पताल निर्माणको प्रक्रिया थालिएको छ । ५० शैय्या थप्नेसँगै स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाका इन्जिनियर नरेन्द्र भण्डारीले बताए । ‘भवन निर्माणको प्रगति ८५ प्रतिशत भएको छ,’ उनले भने, ‘७२ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।’

नेपाल सरकारले १५ मंसिर २०७७ मा देशभर रहेका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । कुल १८ करोड रुपैयाँ लागतमा भवन तयार हुन लागेको छ ।

हालसम्म १३ करोड ६० लाख रुपैयाँ बजेट कार्यान्वयन भएको पालिकाले जनाएको छ ।

आउँदो जेठसम्म नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी थालिएको स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक राजेन्द्र अधिकारीले बताए । ‘नयाँ दरबन्दी सिर्जना गरेर आधारभूत अस्पतालबाट सेवा दिने गरी तयारी थालिएको छ,’ उनले भने, ‘नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्यअनुसार अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ ।’

अस्पताल निर्माण योजना बहुवर्षीयमा नगएको र स्रोत सुनिश्चित नहुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । अस्पतालका लागि यो वर्ष पनि तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ