काठमाडौं— त्रिवि शिक्षण अस्पतालमा १५ शय्याको इमर्जेन्सी वार्ड थप गरिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको सुरुवात गरेका छन् ।
यस्तै, मन्त्री पौडेलले अस्पतालमा आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत उद्घाटन गरेका छन् । यसका लागि स्वास्थ्य मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो ।
सेवा सुरु गर्दै मन्त्री पौडेलले त्रिवि शिक्षण अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालहरुमा धेरै बिरामी आउनुको कारण यही भएको बताए । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए ।
‘त्रिवि शिक्षण अस्पतालको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,’ मन्त्री पौडेलले भने ।
अस्पतालका निर्देशक प्रा.डा. सुवासप्रसाद आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।
बिरामी संख्या अधिक भएपनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परेपछि अस्पतालले शैय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शैय्या पु¥याएको हो ।
यसअघि आठ बेड मात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शैय्या रहनेछ ।