काठमाडौं–समयमै उपचार पाए जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात मस्तिष्क ज्वरोबाट हुने क्षति कम गर्न सकिने विज्ञहरुले बताएका छन् । ३० प्रतिशतसम्म मृत्युदर रहेको यो रोगबाट बच्नका लागि खोप लगाउने, झुलभित्र सुत्ने, लामो लुगा लगाउनु उपयुक्त हुने डब्लुएचओ सर्भिलेन्स अफिसर डा. सोनिया भगतले बताइन् ।
डा. भगतले रोगको संक्रमण देखिनासाथ स्वास्थ्य संस्था जानुपर्नेसमेत जानकारी दिइन् । नेपालमा बढी पानी पर्ने समयमा यसको प्रकोप देखिने गरेको उनको भनाइ छ । ‘अझै तीन महिना अर्थात कात्तिकसम्म नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढी देखिन सक्छ,’ उनले भनिन् ‘जापानिज इन्सेफलाइटिस भाइरस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोगको समयमै पहिचान गरी उपचार गर्न सकनौं भने ठूलो क्षति हुन सक्छ ।’
स्वास्थ्य जोखिमका विषयहरुमा स्वास्थ्य पत्रकारहरुलाई अभिमुखीकरण गर्न स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)सँग सहकार्य गर्दै आइरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालले चौथो श्रृङ्खलाअन्तर्गत सोमबार जापानिज इन्सेफलाइटिस रोगबारे जानकारी दिएको थियो ।
समयमै रोगको पहिचान हुन नसकेर उपचार नपाएमा मस्तिष्क सुन्निने, पक्षघात, बेहोस हुने, कोमामा जाने वा मृत्यु हुनेसम्मको अवस्था पुग्न सक्ने उनको भनाइ छ । लामखुट्टेले संक्रमित सुँगुर बंगुर, हाँस, बकुल्ला वा जंगली चराहरुलाई टोकेर मानिसलाई टोक्दा यो रोग सर्छ । तर, सिधै एउटा मासिनबाट अर्को मानिसमा भने नसर्ने डा. प्रशान्त रायले जानकारी लिए । उनले धानखेत तथा पानी भएका तथा पानी जमेका क्षेत्रहरु, सुँगुर तथा हाँस फर्म नजिक भएका बस्तीहरु बढी जोखिमयुक्त भएको समेत बताए ।
यो रोग लाग्दा सुरुमा अन्य रोगको जस्तै ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, कमजोरी महसुस हुने सामान्य लक्षणहरु हुन् । उच्च ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, शरीरमा कम्पन हुने, अर्धचेत वा बेहोस हुने, शारीरिक कमजोरी वा पक्षघात हुने वा कोमामा पुग्नु यसका गम्भीर लक्षण हुन् ।
क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट जोगिनु नै पहिलो सुरक्षित उपाय हो । सो लामखुट्टे खेतवारी बढी हुने हुँदा लामखुट्टेको बासस्थान भएकातिर नजाने, आफू बसेको स्थान झाडी, पानी जमेको ठाउँ छन् भने त्यसलाई सफा गरिदिने, घर बस्ती नजिकै सुँगुर बंगुर तथा हाँस बकुल्ला फार्महरु नराख्ने गर्नु नै उपयुक्त हुने सर्भिलेन्स टिम लिडर डा. बलविन्द्र सिंह चावलाले जानकारी दिए । साथै खोप यसको प्रमुख सुरक्षाको उपाय भएको उनको भनाइ थियो ।
डा. चावलाले जनचेतनाको अभावमा नागरिकहरु रोकथाम गर्न सकिने संक्रमणमा परिरहेको भन्दैं यसमा स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले नागरिकसम्म सचेतनाका विषयहरु सही रुपमा पुगोस् भनेर नै स्वास्थ्य पत्रकार मञ्चसँग सहकार्य गर्दै पत्रकार अभिमुखीकरण कार्यक्रम राखिएको बताए ।
मञ्चका अध्यक्ष भिषा काफ्लेले पत्रकारहरुलाई प्राविधिक ज्ञान तथा क्षमता अभिबृद्धिका लागि डब्लुएचओसँग सहकार्य गरेको भन्दै यसलाई निरन्तरता दिएर अघि बढ्ने बताएका थिए ।