काठमाडौं-सरकारले पाँच महिनापछि उपकुलपति रिक्त रहेका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ ।
मंगलबार प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री निकट स्रोतकाअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. वुद्धि पौडेल उपकुलपति नियुक्त भएका छन् । यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा भरतबहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. पुजनकुमार रोकाया नियुक्त भएका छन् ।