२०८२ भदौ ३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाललाई सफलता

बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाललाई सफलता


काठमाडौं—बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपाललाई सफलता मिलेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालमा रुबेला निवारण भएको घोषणा गरेको हो ।

डब्लूएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरा उन्मूलनमा सफलता पाएको घोषणा गरेको हो ।

डब्लूएचओको दक्षिण पूर्वी एसिया कार्यलय प्रमुख डा. क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा महत्वपूर्ण सार्वजनिक उपलब्धि भनिएको छ । ‘नेपालले नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरूको लगनशीलता र सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निरन्तर योगदानका कारण यो सफलता हासिल गरेको हो,’ डा क्याथरिनको पत्रमा छ ।

लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यानै लिने कारक यस रोगको उन्मूलन हुन सकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।

मन्त्री पौडेलले सामाजिक सञ्जालमा यो कार्यमा सक्रिय सबै स्वस्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत साझेदारहरुलाई धन्यवाद दिएका छन् । ‘यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो,’ मन्त्री पौडेलले भनेका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिवद्ध रहेको भन्दै यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।

‘यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पु¥याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु,’ उनले भनेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ