२०८२ असोज ९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा घाइते सन्तनुलाई भेट्न अर्थमन्त्री विराट टिचिङमा, परिवारका तीन माग

विराटनगरमा घाइते सन्तनुलाई भेट्न अर्थमन्त्री विराट टिचिङमा, परिवारका तीन माग


विराटनगर -जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका मोरङ बूढीगंगा–७ का सन्तनु ढकाललाई भेट्न अर्थमन्त्री रामेश्वर खनाल बुधबार विराट मेडिकल शिक्षण अस्पताल पुगेका छन् ।

अस्पतालको शय्यामा जीवनसँग लडिरहेका १९ वर्षीय सन्तनु अहिले पनि बोल्न नसक्ने अवस्थामा छन् । तर, भेटका क्रममा उनले कागजमा ‘थ्याङ्क यु’ लेखेर मन्त्रीप्रति आभार प्रकट गरेका उनका बुबा महेश ढकालले जानकारी दिए ।

मन्त्रीसँगको भेटमा बुबा महेश ढकालले तीनवटा प्रमुख माग राखेका छन् । पहिलो, आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले सहयोग गर्नुपर्ने, दोस्रो, सबै घाइते विद्यार्थीहरूको निःशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्नुपर्ने र तेस्रो, नयाँ राजनीतिक परिवेशमा युवाहरूले उठाएका मागलाई सरकारले सम्बोधन गर्नुपर्ने । “मृतकका परिवारको अवस्था सरकारसँग जोडिनुपर्छ, घाइतेहरूको जीवनलाई नियमित बनाउन तत्काल उपचार चाहिन्छ, अनि आन्दोलनले उठाएका आवाजलाई सरकारले बेवास्ता गर्नु हुँदैन,” ढकालले भनेको उद्धृत गर्दै बुबा महेशले बताए ।

उनका अनुसार मन्त्री खनालले सरकार घाइतेहरूको उपचार खर्चसहित आवश्यक सबै व्यवस्था गर्ने आश्वासन दिएका छन् । “चिन्ता लिनु पर्दैन, सरकार उपचार खर्च बेहोर्छ,” मन्त्रीले भनेको उनको भनाइ छ ।

सन्तनुलाई गत भदौ २३ गते इटहरीमा प्रहरीको गोली लागेर गम्भीर चोट पुगेको हो । सुन्दरहरैंचाको सुकुना माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत ढकाललाई करिब नौ घण्टासम्म शल्यक्रिया गरिएको थियो । चिकित्सकका अनुसार उनको घाँटी र लागामा गम्भीर चोट लागेको छ भने गोली लागेका भागको क्षतिग्रस्त छाला तथा मांसपेशीलाई शरीरको अन्य भागको छालाले प्रतिस्थापन गरिएको छ ।

यसैबीच, सामाजिक सञ्जालमा सन्तनुको उपचारमा समस्या भएको भन्ने हल्ला असत्य भएको परिवारले स्पष्ट पारेको छ । बुबा महेशले अस्पतालले सम्पूर्ण उपचार खर्च बोकेको र परिवारलाई कुनै आर्थिक भार नपरेको बताएका छन् । “औषधि, शल्यक्रिया सबै निःशुल्क भइरहेको छ,” उनले भने । साथै उनले सन्तनुको नाममा कोही पनि आर्थिक संकलन नगर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा घाउ–चोटका तस्बिर पोस्ट गरिने प्रवृत्तिप्रति पनि आपत्ति जनाए । “यस्ता तस्बिर देख्दा परिवारलाई भावनात्मक चोट पुग्छ, कृपया यस्तो नगर्नुहोस्,” उनले भने ।

जेनजी आन्दोलनका क्रममा घाइते बनेका सन्तनुको अवस्था अहिले स्थिर रहेको र निरन्तर उपचार भइरहेको चिकित्सकहरूले जनाएका छन् । उनका परिवार भने छोराको जीवनरक्षासँगै आन्दोलनले उठाएका मागलाई सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइरहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ