विराटनगर—विश्व पक्षघात दिवसको अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालले पक्षघात (स्ट्रोक) सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा उपचारमा सहयोग पुर्याउन विशेष सेवा तथा आकर्षक छुटका कार्यक्रमहरू घोषणा गरेको छ ।
२५ वर्षअघि वरिष्ठ कन्सल्ट्यान्ट न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार बिष्टद्धारा स्नायु सेवाबाट सुरु भएको यस अस्पतालले पक्षघातका बिरामीहरूको हेरचाहका लागि अत्याधुनिक ‘डेडिकेटेड स्ट्रोक वार्ड’ सञ्चालन गर्दै आएको छ । अस्पतालले हालसम्म कोशी र मधेश प्रदेशका साथै भारतका विभिन्न क्षेत्रका १५ हजारभन्दा बढी स्ट्रोकका बिरामीलाई सफल उपचार सेवा प्रदान गरिसकेको जनाएको छ ।
अक्टोबर २९ मा मनाइने विश्व पक्षघात दिवसको अवसरमा अस्पतालले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल पत्ता लगाउन आधारभूत, विस्तृत र उन्नत गरी तीन प्रकारका जाँच प्याकेजहरू ल्याइएको छ । जसमा रक्तचाप, चिनीको मात्रा, लिपिड प्रोफाइल, ईसीजी, क्यारोटिड डोप्लर र मस्तिष्कको एमआरआईजस्ता परीक्षणहरू समावेस छन् । यी प्याकेजहरूमा १० प्रतिशत छुट प्रदान गरिनेछ । साथै, ४० वर्षभन्दा माथिका व्यक्ति वा विगतमा पक्षघात भएका बिरामीका परिवारका सदस्यलाई थप २५ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ ।
पक्षघातपछिको जीवनशैली सहज बनाउन र बिरामीलाई पूर्ण निको हुन सहयोग गर्न फिजियोथेरापी सेवामा ३० प्रतिशतसम्मको छुट प्रदान गरिने अस्पतालले जनाएको छ ।
मुटु र स्नायु प्रणाली दुवैको स्वास्थ्य परीक्षण गर्न चाहनेहरूका लागि विशेष ‘न्युरो कार्डियो कम्बो प्याकेज’ ल्याइएको छ । यस प्याकेजअन्तर्गत आफ्ना अभिभावकलाई परीक्षणका लागि लिएर आउने परिवारका दोस्रो सदस्यलाई ५० प्रतिशत छुट दिइनेछ ।
विश्व पक्षघात दिवसको अवसरमा अस्पतालले एक हप्तासम्म विभिन्न निःशुल्क सेवाहरू प्रदान गर्नेछ । जसमा निःशुल्क रक्तचाप र रगतमा चिनीको मात्रा परीक्षण, पक्षघातका उपचाररत बिरामीहरूका लागि निःशुल्क परामर्श, र विराटनगर महानगरभित्र पक्षघातका आकस्मिक बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा समावेस छन् ।
अस्पतालले सम्पूर्ण जनसमुदायलाई यी विशेष सेवा तथा छुटको लाभ लिन र पक्षघातसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूमा सक्रिय सहभागी भई स्वस्थ समाज निर्माणमा योगदान पुर्याउन हार्दिक अनुरोध गरेको छ ।