२०८२ कात्तिक २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा

विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा


विराटनगर—विश्व पक्षघात दिवसको अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालले पक्षघात (स्ट्रोक) सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा उपचारमा सहयोग पुर्‍याउन विशेष सेवा तथा आकर्षक छुटका कार्यक्रमहरू घोषणा गरेको छ ।

२५ वर्षअघि वरिष्ठ कन्सल्ट्यान्ट न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार बिष्टद्धारा स्नायु सेवाबाट सुरु भएको यस अस्पतालले पक्षघातका बिरामीहरूको हेरचाहका लागि अत्याधुनिक ‘डेडिकेटेड स्ट्रोक वार्ड’ सञ्चालन गर्दै आएको छ । अस्पतालले हालसम्म कोशी र मधेश प्रदेशका साथै भारतका विभिन्न क्षेत्रका १५ हजारभन्दा बढी स्ट्रोकका बिरामीलाई सफल उपचार सेवा प्रदान गरिसकेको जनाएको छ ।

अक्टोबर २९ मा मनाइने विश्व पक्षघात दिवसको अवसरमा अस्पतालले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल पत्ता लगाउन आधारभूत, विस्तृत र उन्नत गरी तीन प्रकारका जाँच प्याकेजहरू ल्याइएको छ । जसमा रक्तचाप, चिनीको मात्रा, लिपिड प्रोफाइल, ईसीजी, क्यारोटिड डोप्लर र मस्तिष्कको एमआरआईजस्ता परीक्षणहरू समावेस छन् । यी प्याकेजहरूमा १० प्रतिशत छुट प्रदान गरिनेछ । साथै, ४० वर्षभन्दा माथिका व्यक्ति वा विगतमा पक्षघात भएका बिरामीका परिवारका सदस्यलाई थप २५ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ ।

पक्षघातपछिको जीवनशैली सहज बनाउन र बिरामीलाई पूर्ण निको हुन सहयोग गर्न फिजियोथेरापी सेवामा ३० प्रतिशतसम्मको छुट प्रदान गरिने अस्पतालले जनाएको छ ।

मुटु र स्नायु प्रणाली दुवैको स्वास्थ्य परीक्षण गर्न चाहनेहरूका लागि विशेष ‘न्युरो कार्डियो कम्बो प्याकेज’ ल्याइएको छ । यस प्याकेजअन्तर्गत आफ्ना अभिभावकलाई परीक्षणका लागि लिएर आउने परिवारका दोस्रो सदस्यलाई ५० प्रतिशत छुट दिइनेछ ।

विश्व पक्षघात दिवसको अवसरमा अस्पतालले एक हप्तासम्म विभिन्न निःशुल्क सेवाहरू प्रदान गर्नेछ । जसमा निःशुल्क रक्तचाप र रगतमा चिनीको मात्रा परीक्षण, पक्षघातका उपचाररत बिरामीहरूका लागि निःशुल्क परामर्श, र विराटनगर महानगरभित्र पक्षघातका आकस्मिक बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा समावेस छन् ।

अस्पतालले सम्पूर्ण जनसमुदायलाई यी विशेष सेवा तथा छुटको लाभ लिन र पक्षघातसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूमा सक्रिय सहभागी भई स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउन हार्दिक अनुरोध गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ