२०८२ पुस ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टव्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर

व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर


काठमाडौं—पाल्पाको तानसेन—७, प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल लिमिटेड (एलएमसी)को बहुमत सेयर किनबेच भएको छ । १३५ जना सेयर होल्डर रहेको लुम्बिनी मेडिकल कलेजका प्रमुख संस्थापक गोपाल पोखरेलसहितको समूहको स्वामित्वमा रहेको ६७ प्रतिशत सेयर किनेर व्यवसायी दिनेश सिलवालले कलेजको बहुमत स्वामित्व लिएका हुन् ।

लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर किनेका सिलवाल नेपालको प्रतिष्ठित आईटी कम्पनी ‘कोडावतार’का अध्यक्ष हुन् । सेयर किनेसँगै उनले कलेजको व्यवस्थापकीय नेतृत्वसमेत लिएका छन् । ‘हामीले लुम्बिनी मेडिकल कलेजको ६७ प्रतिशत सेयर किनेका छौं,’ गत शनिबार लुम्बिनी मेडिकल कलेजको सेयर खरिद बिक्री सकिएपछि सञ्चालक समिति अध्यक्ष चयन भएका उनले भने, ‘अस्ति शनिबार सम्पन्न साधारणसभाले सेयर किनबेचको सबै प्रक्रिया अनुमोदन गरेको छ ।’ उनले आफ्नो कम्पनी मायाहोल्ड प्राइभेट लिमिटेडमार्फत लुम्बिनीको सेयर खरिद गरेका हुन् ।

मेडिकल कलेजका संस्थापकसमेत रहेका निवर्तमान अध्यक्ष गोपाल पोखरेलले आफूहरुले बहुमत सेयर बेचेर मेडिकल कलेजबाट बाहिरिएको जानकारी दिए । ‘हामीहरुले लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर बेच्यौं,’ उनले भने, ‘कागजपत्रका कामहरु समेत सकिए, मैले २० वर्षपछि मेडिकल कलेजको नेतृत्व समेत छाडे ।’ वि.सं. ०७७ सालमा पोखरेलको समूहले देवदह मेडिकल कलेजको बहुमत सेयर किनेको थियो । देवदहको सेयर किनेसँगै पोखरेल लुम्बिनी मेडिकल कलेजबाट बाहिरिन चाहेका थिए ।

झण्डै २० वर्ष लामो चिकित्सा शिक्षाको विरासत बोकेको लुम्बिनी मेडिकल कलेज ३११ रोपनीमा क्षेत्रफलमा फैलिएको छ । २० वटा भवन पूर्ण रुपमा सञ्चालनमा रहेको कलेजले चिकित्सा शिक्षाका तीन कार्यक्रम अध्यापन गराउनुका साथै विशेषज्ञ उपचार सेवा प्रवाह गर्दै आएको छ । लुम्बिनी मेडिकल कलेजको ४०० शय्या शिक्षण अस्पताल स्वीकृत भएपनि ६०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा छ । शिक्षण अस्पतालले दैनिक ५०० जनालाई ओपीडी सेवा दिने गरेको छ भने ३०० शय्या अकुपेन्सी छ ।

एक हजार बढी विद्यार्थीलाई ग्राजुयट गरिसकेको लुम्बिनी मेडिकल कलेज वि.सं. २०६२ सालमा स्थापना भएको थियो । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा अहिले पोष्ट ग्राजुयसन, एमबीबीएस, र बीएस्सी नर्सिङ शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । कलेजले स्वदेशी तथा विदेशीहरुलाई उच्च गुणस्तरको चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ । अहिले लुम्बिनी मेडिकल कलेजमा झण्डै आठ सय जना कर्मचारीले काम गर्छन् ।

लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर किनेका युवा व्यवसायी सिलवाल काठमाडौं निवासी हुन् । बेलायतबाट सूचना प्रविधी विज्ञानमा स्नातकोत्तर गरेका सिलवालले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रीकल इन्जिनियरिङमा स्नातक गरेका छन् । उनी संस्थापक तथा अध्यक्ष रहेको ‘कोडावतार’ अमेरिका, क्यानडामा सफ्टवेयरहरुको आउटसोर्सिङ गर्दै आएको छ । कालोपुलमा मुख्य कार्यलय रहेको कम्पनीको बैंगलुरु र फिलिपिन्समा पनि कार्यलय छन् । वि.सं. २०७९/८० मा नेपालबाट प्रविधिको आउटसोर्सिङतर्फ सबैभन्दा बढी आयकर तिरेवापत कर दिवसमा करदाता कार्यलयले उनको कम्पनीलाई सम्मान समेत गरेको थियो ।

सिलवालका आईटी कम्पनीमा झण्डै १२ सय जनाले रोजगारी पाएका छन् । १२०० जनालाई रोजगारी दिने दिनेशको आईटी कम्पनी सम्भवतः नेपालकै सबैभन्दा ठूलो कम्पनी हो । त्यसबाहेक दिनेशको लगानी बैकिङ क्षेत्रमा समेत छ । कम शुल्कमा कसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा आफ्नो गहिरो रुचि भएकाले आफूले चिकित्सा शिक्षाको क्षेत्रमा लगानी गरेको सिलवालले बताए । ‘मलाई पहिलेदेखि नै कम शुल्कमा कसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिन्छ भन्नेमा रुचि थियो,’ उनले हेल्थआवाजसँग भने, ‘त्यही कारण आईटीभन्दा पर चिकित्सा शिक्षाको क्षेत्रमा लगानी गरेको हौं ।’ इन्ट्री प्वाइन्ट नै मेडिकल कलेज भएकाले संस्थागत इफिसेन्सीमा आफ्नो जोड रहने उनले बताए ।

अध्यक्ष सिलवालले गुणस्तरीय शिक्षाका दृष्टिले अब्बल मेडिकल कलेज आफूहरुले लिएको बताउँदैं भविष्यमा चिकित्सा शिक्षाका अन्य कार्यक्रमहरु पनि थप्दैं लैजानेतर्फ आफूहरुको ध्यान रहने बताए । ‘एलएमसी गुणस्तरीय शिक्षाका हिसाबले अब्बल इन्स्टिच्युसन हो,’ उनले भने, ‘अब हामी स्वास्थ्यको होल इकोसिष्टममा चाहिने मेनपावर उत्पादन गर्ने लक्ष्यमा काम गर्छौ ।’ इन्स्युरेन्समार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा जोड रहने बताउँदैं उनले भविष्यमा दुर्गम क्षेत्रमा अन्य मेडिकल कलेजहरु सञ्चालनमा ल्याउने योजना रहेको समेत जानकारी दिए ।

आईटी क्षेत्रको अनुभवी टिम लुम्बिनी मेडिकल कलेजको व्यवस्थापनमा आएकाले त्यसले संस्थागत प्रभावकारिता र डिजिटलाइजेसनको क्षेत्रमा पनि अस्पताल र कलेजलाई चुस्तदुरुस्त बनाउने अपेक्षा स्थानीयको छ । तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले लगानीकर्ता बाहिर खोज्न जानुपर्ने अवस्थामा लगानीकर्ता नै पहाडी जिल्लामा आउनु गर्वको विषय भएको बताए ।

‘तानसेन पहाडी जिल्लाको नगरपालिका हो,’ उनले भने, ‘अहिले लगानीकर्ता खोज्दैं जानुपर्ने अवस्था छ तर उहाँहरु उत्कृष्ट मेडिकल कलेज बनाउँछौं भनेर आउनुभयो, जुन राम्रो हो । हामी उहाँहरुलाई स्वागत गर्दछौं ।’ आईटी क्षेत्रमा अनुभवी टिमले मेडिकल कलेजमा लगानी गरेकाले मेडिकल कलेजको डिजिटलाइजेसन र चुस्तदुरुस्त सेवाको अपेक्षा आफूहरुको रहेको श्रेष्ठले बताए ।

लुम्बिनी मेडिकल कलेजको यात्रा

व्यवसायी गोपाल पोखरेलले केही साथीहरुलाई लिएर वि.सं. २०६२ सालमा लुम्बिनी मेडिकल कलेज सञ्चालनमा ल्याएका हुन् । सुरुमा लुम्बिनी मेडिकल कलेजले १०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा ल्यायो भने ३०० शय्याको शिक्षण अस्पतालको सैद्धान्तिक स्वीकृत प्राप्त गर्‍यो ।

‘सुरुको वर्षमा भर्ना अन्तिम समयमा पुगेको थियो,’ २० वर्ष लुम्बिनी मेडिकल कलेजको कार्यकारी अध्यक्षका रहेर हालैमात्रै निवर्तमान भएका पोखरेलले भने, ‘५० सिटमा स्वीकृती पायौं तर भर्ना सकिइसकेकाले छिटफुट विद्यार्थी लिँदा ३२ जना विद्यार्थी लिएर अध्यापन सुरु गर्‍यौं ।’ सुरुवाती समयमा मेडिकल कलेजमा प्राध्यापक, स्वास्थ्यकर्मी र प्रशासनका गरी १०० जना कर्मचारी थिए ।

लुम्बिनी मेडिकल कलेजका पाँच जना संस्थापक सेयर होल्डर थिए । पछि समाजसेवी, स्थानीयलगायतलाई समावेस गरेर १३४ जना सेयर होल्डर बने । ‘हामीले स्थानीय, समाजसेवीलगायतबाट ४० हजारदेखि १ लाखसम्म लगानी लिएर समेत सेयर होल्डर बनायौं,’ पोखरेलले भने ।

पाँच करोड लगानीबाट सुरु भएको यो मेडिकल कलेजमा लगानीमात्रै ६८ करोड रुपैयाँ भएको उनले जानकारी दिए । लुम्बिनी मेडिकल कलेजबाट बाहिरिएसँगै पोखरेलले अब आफू पूर्ण रुपमा देवदह मेडिकल कलेजमा केन्द्रीत हुने बताए ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #कोडावतार, #गोपाल पोखरेल, #दिनेश सिलवाल, #लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल लिमिटेड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ