पाठेघरको मुखको क्यान्सर विश्वभर महिलाहरूमा देखिने चौथो सबैभन्दा प्रमुख क्यान्सर हो, र हाल प्रत्येक दुई मिनेटमा यस रोगका कारण एक जनाको ज्यान जाने गरेको छ। यो रोग नेपाल र छिमेकी मुलुक भारतमा अझै पनि एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो।
ई. सं. २०२२ को तथ्याङ्कअनुसार विश्वव्यापी रुपमा सो वर्ष करिब ६६०,००० महिलाहरुमा पाठेघरको मुखको क्यान्सर निदान भएको र यस रोगका कारणले सोहि वर्ष करिब ३५०,००० महिलाहरुले ज्यान गुमाउनुपरेको थियो। यसै परिप्रेक्षमा नेपालमा पनि वर्षेनी करिब २२०० महिलाहरुमा यो रोग निदान् हुनगई आधा भन्दा बढी, करिब १३०० महिलाहरुले यस रोगका कारणले अकाल मै ज्यान गुमाउनपरेको देखिन्छ।
पाठेघरको मुखको क्यान्सर सबैभन्दा रोकथाम गर्न सकिने र उपचारयोग्य क्यान्सरहरूमध्ये एक हो र यसको सम्पूर्ण उपचार नेपालमै उपलब्ध छ र सम्भव छ। तर दुर्भाग्यवश, हाम्रा अधिकांश महिला आमा/दिदीबहिनीहरुमा यो रोग ढिलो चरणमा पत्ता लाग्ने भएकाले रोग निदान हुने कतिपयले अकाल मै मृत्युवरण गर्नुपरेको देखिन्छ। सही जानकारी र समयमै अपनाइने उपायहरूले यो क्यान्सरलाई धेरै हदसम्म रोक्न सकिन्छ। आफैँ र आफ्ना प्रियजनलाई यो रोगबाट जोगाउन निम्न कुराहरुमा ध्यान दिन सकिन्छ:
१. जोखिम कारकहरूबारे जानकारी
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण उच्च जोखिमयुक्त ह्युमन प्यापिलोमा भाइरस (HPV) को दीर्घकालीन संक्रमण हो। HPV एक यौन सम्पर्कबाट सर्ने भाइरस हो, र प्रायः सबै यौन सक्रिय व्यक्तिहरू जीवनको कुनै न कुनै समयमा यसबाट संक्रमित हुन्छन्।
धेरैजसो संक्रमण शरीरले आफैँ हटाइदिन्छ। तर केही व्यक्तिमा संक्रमण लामो समयसम्म रहिरहँदा यसले भविष्यमा क्यान्सर निम्त्याउन सक्छ।
जोखिम बढाउने अन्य कारणहरूमा धूम्रपान, कमजोर रोगप्रतिरोधात्मक शक्ति, कम उमेरमै यौन सम्पर्क सुरु हुनु, र धेरै यौन साझेदार हुनु पर्दछन्।
२. HPV खोप
विश्व स्वास्थ्य संगठन (WHO) ले सिफारिस गरेको HPV खोप सुरक्षित र अत्यन्त प्रभावकारी उपाय हो। यसले गर्भाशयको मुखको क्यान्सरको जोखिम निकै हद्सम्म घटाउँछ।
को–कोले खोप लगाउनुपर्छ?
९–१५ वर्षका किशोरी
२६ वर्षसम्म (र छनोट गरिएका अवस्थामा ४५ वर्षसम्म) क्याच-अप खोप
आफ्नो स्वास्थ्यकर्मी वा चिकित्सकसँग सल्लाह गरेर खोपबारे जानकारी लिनुहोस्।
३. नियमित स्क्रिनिङ परीक्षण
स्क्रिनिङले क्यान्सर बन्नु अघि नै पाठेघरको मुखमा हुने असामान्य परिवर्तनहरू पत्ता लगाउन मद्दत गर्छ। नियमित स्त्रीरोग परीक्षणप्रति हिचकिचाहट हुँदा धेरै महिलाले प्रारम्भिक निदानको अवसर गुमाउँछन्।
HPV भाइरस परीक्षण: ३० वर्षदेखि सुरु गरी ६५ वर्षसम्म प्रत्येक ५ वर्षमा
प्याप स्मियर परीक्षण: २१ वर्षदेखि सुरु गरी प्रत्येक ३ वर्षमा
४. असामान्य नतिजाको समयमै उचित अनुगमन
यदि स्क्रिनिङ परीक्षणमा असामान्यता देखिएमा तुरुन्तै स्त्रीरोग विशेषज्ञ वा क्यान्सर विशेषज्ञसँग परामर्श लिनु अत्यावश्यक हुन्छ। प्रारम्भिक चरणका पूर्व-क्यान्सर अवस्थाहरू थर्मल एब्लेसन वा सानो शल्यक्रियाबाट पूर्ण रूपमा निको पार्न सकिन्छ।
५. सुरक्षित यौन व्यवहार
यौन साझेदारको संख्या सीमित गर्नु र कन्डोमको सही प्रयोगले HPV सर्ने जोखिम उल्लेखनीय रूपमा घटाउँछ।
६. धूम्रपान त्याग्नुहोस्
धूम्रपानले शरीरको रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ, जसले HPV संक्रमण हटाउन गाह्रो बनाउँछ। धूम्रपान छोड्दा समग्र स्वास्थ्यमा सुधार आउँछ।
७. जानकार र सचेत रहनुहोस्
रोगका कारण, परीक्षण र उपचारबारे जानकारी भएमा छिटो निदान र राम्रो उपचार सम्भव हुन्छ। WHO जस्ता विश्वसनीय संस्थाका स्रोतहरू उपयोगी हुन्छन्।
८. स्वस्थ जीवनशैली
मजबुत प्रतिरक्षा प्रणालीले HPV जस्ता संक्रमणसँग लड्न मद्दत गर्छ। फलफूल, सागसब्जी, साबुत अन्नयुक्त सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापन स्वस्थ रहन आवश्यक छन्।
पाठेघरको मुखको क्यान्सरको रोकथाम सम्भव छ। खोप, नियमित परीक्षण र स्वस्थ बानीहरूले पाठेघरको मुखको क्यान्सरको जोखिम धेरै घटाउन सकिन्छ। आजको सचेतनाले भोलिको जीवन बचाउन सक्छ।
पाठेघरको मुखको क्यान्सर उन्मूलनका लागि सरकार, स्वास्थ्यकर्मी, समुदाय र व्यक्तिहरू सबैको सहकार्य आवश्यक छ। यस रोगसँग जोडिएको कलङ्क हटाउनु, खुला रूपमा छलफल गर्नु र रोकथाम उपायलाई समर्थन गर्नु अत्यन्त महत्त्वपूर्ण छ।