काठमाडौं—नेपालमा पहिलो पटक अत्याधुनिक इन्डोस्कोपीक प्रविधि इन्डोस्कोपिक सबमुकोसल डिसेक्सन (ईएसडी) सेवा सुरु भएको छ । ह्याम्स अस्पतालका ग्यास्ट्रोइन्ट्रोलोजिस्ट, हेपाटोलोजिस्ट तथा इन्डोस्कोपिस्ट डा. विवेककुमार पुर्वेको नेतृत्वमा उक्त सेवा सुरु भएको हो ।
ईएसडी जीआईका प्रारम्भिक अवस्थाका ट्युमर तथा ठूला पोलिपहरूलाई बिना शल्यक्रिया, एकै टुक्रामा पूर्ण रूपमा निकाल्ने आधुनिक उपचार विधि हो। उक्त प्रविधिबाट इसोफेगस, पेट तथा कोलोनमा देखिने अर्ली स्टेज ट्युमरको सुरक्षित उपचार सम्भव हुन्छ।
डा. पुर्वेका अनुसार नेपालमा यसअघि ईएसडी सेवा उपलब्ध थिएन। चीनमा विशेष तालिम लिएपछि पछिल्ला २–३ महिनाअघि ईएसडी सेवा सुरु गरिएको हो ।
हालसम्म दुई जना बिरामीमा ईएसडी सफलतापूर्वक सम्पन्न भइसकेको र दुवै बिरामी नियमित फ्लोअपमा रहेको उनले जानकारी दिए ।
‘उहाँहरु दुवै जना स्वस्थ अवस्थामा हुनुहुन्छ,’ डा. पुर्वेले भने ।
के हो ईएसडी ?
मानव जीआई ट्र्याक्ट चार तह—म्यूकोसा, सबमुकोसा, मस्कुलारिस र सिरोसाबाट बनेको हुन्छ। इन्डोस्कोपिक सबमुकोसल डिसेक्सन प्रक्रियामा म्यूकोसा र सबमुकोसाको बीचमा सूक्ष्म डिसेक्सन गरी ट्युमरलाई पूरै एकैपटक निकालिन्छ ।
यसअघि प्रयोग हुँदै आएको इन्डोस्कोपिक म्युकोसल रिसेक्सन विधिबाट ट्युमर पूर्ण रूपमा ननिस्कने र पुनः देखिने जोखिम रहने गरेको थियो। तर, ईएसडीबाट ट्युमर पूर्ण रूपमा हटाइने भएकाले पुनरावृत्तिको सम्भावना निकै कम हुन्छ।
ईएसडीका फाइदा
- बाहिरबाट कुनै चिरफार वा सर्जरी आवश्यक नपर्ने
- अंग सुरक्षित राख्न सकिने
- रक्तस्रावको जोखिम न्यून
- छोटो अस्पताल बसाइँ
- २४ घण्टामै खाना सुरु गर्न सकिने
- सर्जरीको तुलनामा करिब एक तिहाइ खर्च
- बिरामीको मर्बिडिटी
- कम पीडा
जोखिम भएपनि नियन्त्रण योग्य
ईएसडी प्रक्रियामा कहिलेकाहीँ रक्तस्राव वा आन्द्रामा प्वाँल पर्नेजस्ता जटिलता आउन सक्ने भएपनि अनुभवी चिकित्सक, आधुनिक उपकरण र सक्षम इन्डोस्कोपी युनिट भएमा ती जटिलता तत्काल व्यवस्थापन गर्न सकिने डा. पुर्वेको जानकारी दिए ।
विश्वभर अर्ली स्टेज जीआई क्यान्सरको उपचारमा ईएसडीलाई नम्बर वान रोजाइमा मानिन्छ । लेस इन्भेजीभ, सुरक्षित र किफायती भएकाले भविष्यमा नेपालमा पनि यसको उपयोगिता झन् बढ्दै जाने चिकित्सकहरूको विश्वास छ। ‘सही तालिम र प्रविधिको प्रयोग भयो भने ईएसडी नेपालका बिरामीका लागि गेम चेन्जर बन्न सक्छ,’ डा. पुर्वेले भने ।