२०८३ वैशाख २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार

मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार


काठमाडौं– थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुको नसामा क्याल्सियम जमेर नसा अवरुद्ध भएका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’मार्फत सफल उपचार गरिएको छ । कार्डियोलोजी विभाग प्रमुख डा. यादव भट्ट नेतृत्वको टोलीले क्याल्सियम जमेर मुटुको नसा अवरुद्ध भएका बिरामीको अर्बिटल एथेरेक्टोमी प्रविधिमार्फत सफल उपचार गरेको हो ।

डा. भट्टका अनुसार मंगलबार छाती दुख्ने समस्या लिएर ओपीडीमा आएका बिरामीको मुटुमा ९९ प्रतिशत ब्लकेज भएको पाइएको थियो । परीक्षणको क्रममा मुटुका नसामा क्याल्सियम धेरै जमेको देखिएको थियो । यस्तो अवस्थामा सामान्य एन्जियोप्लास्टी गर्न सम्भव थिएन । समयमै क्याल्सियम निकाली एन्जियोप्लास्टी नगरेको अवस्थामा बिरामीमा हृदयघात हुने जोखिम हुन्थ्यो ।

बुधबार डा. भट्ट नेतृत्वको टोलीले नर्भिकको क्याथ ल्याबमा क्याल्सियम निकाली एन्जियोप्लास्टी गरेको हो । बिरामीको मुटुको नसामा जमेर बसेको क्याल्सियमलाई तासेर निकालेपछि स्टेन्ट राखिएको थियो । यो प्रक्रियालाई चिकित्सकीय भाषामा ‘अर्बिटल एथेरेक्टोमी प्रोसिजर’ भनिन्छ ।

बिरामीको मुटुका नसामा क्याल्सियम जमेको अवस्था दुर्लभ केस भएको र यो उपचार विधि नयाँ भएको उपचारमा संलग्न डा. यादव भट्टले जानकारी दिए । ‘यो केसमा हामीले अर्बिटल प्रोसिजर गरेको हो, मुटुका नसामा क्याल्सियम धेरै भएको बिरामीको पहिला क्याल्सियमलाई तासेर बल्ल स्टेन्ट राखिएको हो,’ उनले भने, ‘सायद यो नेपालमा गरिएको पहिलो प्रोसिजर हो ।’

उपचारपछि बिरामीको अवस्था स्थिर रहेका कारण आईसीयुमा सारिएको अस्पतालले जनाएको छ । शल्यक्रियामा डा. भट्टसँगै डा. नग्मा श्रेष्ठ, डा. राजीव श्रेष्ठ र डा. सन्तोष श्रेष्ठ संलग्न थिए ।

किन हुन्छ मुटुको नसामा क्याल्सियम जम्ने समस्या ?

उपचारमा संलग्न डा. भट्टका अनुसार धेरैजसो मधुमेह, मिर्गौला रोग वा उमेर बढी हुँदै गएका बिरामीको मुटुको नसामा क्याल्सियम जम्ने समस्या हुन्छ । केही अवस्थामा भने युवाहरुमा पनि मुटुको नसामा क्याल्सियम जम्ने समस्या हुन सक्छ ।

मुटुको नसामा धेरै क्याल्सियम जमेको अवस्थाका बिरामीलाई एन्जियोप्लास्टी गर्न अन्य केसमा जस्तो सामान्य तरिकाले सम्भव हुँदैन । क्याल्सियम जमेको अवस्थामा मुटुको नसा बेलुनले खुल्दैन । यस्तो अवस्थामा क्याल्सियमलाई हटाउने प्रक्रियाको उपचार पछि मात्र एन्जियोप्लास्टी गर्न सकिन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ