जेन्ना स्कटलाई आफ्नो पहिलो र एकमात्र सन्तान गर्भमा हुँदा भएको खुसी आज पनि सम्झना छ । तर, त्यही समयमा सुरु भएको तीब्र पेट दुखाइ पनि उनी कहिल्यै बिर्सिन सक्दिनन् ।
गर्भावस्थाका क्रममा उनले चिकित्सकहरुलाई निरन्तर असहजता र दुखाइबारे बताएकी थिइन् । तर, उनलाई त्यो सामान्य भएको, ‘गर्भावस्थामा यस्तै हुन्छ’ भनेर भनिएको थियो ।
स्वस्थ छोरालाई जन्म दिएपछि पनि उनको दुखाइ कम भएन । त्यो यथावत रहिरह्यो ।
एक वर्षभन्दा बढी समयपछि स्कटले आफ्नो जीवन हल्याउने डाइग्नोस पाइन्—स्टेज फोर कोलोन क्यान्सर । त्यतिबेला उनी केवल ३१ वर्षकी थिइन् ।
‘हामीले कोलोनोस्कोपी ग¥यौं । म उठे, कोठामा मेरो श्रीमान, चिकित्सक र चार जना नर्स थिए ।
ग्यास्ट्रोइन्टेस्टाइनल (जिआई) डाक्टरले मलाई क्यान्सर भएको पुष्टि गर्न थप परीक्षण आवश्यक नभएको बताए,’ अहिले ३९ वर्षकी स्टकले इमेलमार्फत भनिन् ।
स्टेज ४ क्यान्सर, जसलाई मेटास्टेटिक क्यान्सर पनि भनिन्छ, भनेको क्यान्सर आफ्नो प्रारम्भिक स्थानबाट शरीरका अन्य भागमा फैलिसकेको अवस्था हो । स्कटकाअनुसार रोग उनको कोलोनबाट कलेजोसम्म फैलिसकेको थियो ।
‘म सधैं एकदमै फिट र स्वस्थ थिएँ । म जीवनभर खेलाडी रहँदैं आएकी थिएँ । म त सानैदेखि रातो मासु पनि खादिँनथें । क्षणभरमै मेरो जीवन पूर्णतयाः बदलियो,’ उनले भनिन्, ‘म स्तब्ध थिएँ किनकी ‘क्यान्सर’ भन्ने शब्द मेरो संसारसँग जोडिएको थिएन । क्यान्सर भनेको मृत्यु भन्ने सोच थियो ।’
चिन्ताजनक प्रवृतिका रुपमा कोलोरेक्टल क्यान्सर अहिले युवा वयस्कका लागि कोलोरेक्टल क्यान्सर अहिले युवा वयस्कहरुका लागि सबैभन्दा घातक क्यान्सरका रुपमा देखिन थालेको छ ।
जनवरी महिनामा चिकित्सा जर्नल जामामा प्रकाशित अध्ययनअनुसार सन् २०२३ सम्ममा संयुक्त राज्य अमेरिकामा ५० वर्षमुनिका व्इक्तिहरुमा क्यान्सरबाट हुने मृत्युको प्रमुख कारण कोलोरेक्टल क्यान्सर बनेको छ ।
अनुसन्धानले देखाएको छ कि ५० वर्षमुनिका समूहमा कोलोन र मलाशय क्यान्सरबाट हुने मृत्यु दर सन् २००५ यता हरेक वर्ष १.१ प्रतिशतले बढ्दैं आएको छ । यही वृद्धिका कारण सन् १९९० को दशकको सुरुवातमा पाँचौ स्थानमा रहेको यो क्यान्सर सन् २०२३ सम्म आइपुग्दा पहिलो स्थानमा पुगेको हो ।
एह्मेडिन जेमल, जो अमेरिकी क्यान्सर सोसाइटीमा निगरानी, रोकथाम तथा स्वास्थ्य सेवा अनुसन्धानका वरिष्ठ उपाध्यक्ष हुन् । भन्छन्, ‘यो किन बढिरहेको छ भन्ने हामीलाई स्पष्ट रुपमा थाहा छैन ।’
उनकाअनुसार ‘५० वर्षमुनिका युवा वयस्कहरुमा अन्य प्रमुख क्यान्सरबाट हुने मृत्युदर घटिरहेको छ । तर, कोलोरेक्टल क्यान्सर हुने मृत्यु मात्र बढिरहेको छ र यसको ठोस कारण के हो भन्ने पूर्ण रुपमा स्पष्ट भइसकेको छैन ।’
सीएनएनबाट भावानुवाद