दाङ—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थपेपछि सेवा लिने बिरामीको चाप बढिरहेको छ । दैनिकजसो १ हजारको हारहारीमा बिरामी प्रतिष्ठानमा उपचारका लागि आइरहेका छन् । यसैक्रममा प्रतिष्ठानले बिरामीको सेवालाई ध्यानमा राख्दै शुक्रबार गरेको वृहत क्यान्सर परामर्श तथा परीक्षण शिविरमा ३ सय बढीले स्वास्थ्य जाँच गराएका छन् ।
बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म चलेको शिविरमा मेडिसिनतर्फ २१ जना, गाइनोतर्फ १ सय ९३ जना र सर्जरीतर्फ ७२ जनाको स्वास्थ्य जाँच गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए । उनले क्यान्सरको सेवा सुरु गर्न प्रतिष्ठानले पहल गरेको र यस्ता शिविरले क्यान्सरका बिरामी पहिचान र उपचार गर्न सहज हुने बताए ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविरबाट ठूलो संख्यामा बिरामी लाभान्वित बनेको लम्सालले बताए । शिविरमा क्यान्सर अस्पताल भरतपुर चितवन र प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारी खटाइएको थियो ।
क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सकका रुपमा मेडिकल अंकोलोजिष्ट डा. विवेक कंडेल, ब्रेष्ट सर्जन डा. अनुप भट्टचन, युरोलोजिष्ट डा. बोधराज गौतम, गाइनो अंकोलोजिष्ट डा. अस्मिता ओलीले शिविरमा स्वास्थ्य जाँच गरेका थिए ।
प्रतिष्ठानमा क्यान्सर सम्बन्धि भएको यो ठूलो र पहिलो शिविर हो । प्रतिष्ठान र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा सुरु गर्न सहकार्य गर्ने सम्झौताअनुरुप शिविर भएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने निमित्त उपकुलपति प्रा. लम्सालले जानकारी दिए ।