काठमाडौं—किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १५ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । गत सोमबार किष्टले ५० वर्षका एक पुरुषमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको हो ।
यससँगै किष्टमा १५ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहकाअनुसार ५० वर्षीय बुवालाई उनकी २६ वर्षीया छोरीले कलेजो दान दिएकी थिइन् ।
कलेजो प्रत्यारोपण टिममा डा. एकानन्द सिंह, डा. मुकुन्दराज जोशी, डा. टंकप्रसाद बोहरालगायतका चिकित्सक र नर्सहरुको टिम सहभागी रहेको थियो भने भारतको एपोलो हस्पिटलबाट आएका डा. निरझलगायतको टिमले सहयोग गरेको थियो । ‘अहिले दाता र प्राप्तकर्ता दुवैको स्वास्थ्य अवस्था राम्रो छ,’ डा. सिंहले भने ।
अस्पतालले पितालाई कलेजो दान दिएर छोरीले पारिवारिक सम्बन्धको गहिरो उदाहरण पेश गरेको जनाएको छ । ‘आफ्ना पितालाई कलेजो दान दिएर उहाँले अद्वितीय माया, समर्पण र पारिवारिक सम्बन्धको गहिरो उदाहरण प्रस्तुत गर्नुभएको छ,’ किष्टले भनेको छ, ‘एक छोरीले आफ्ना बुवाको जीवन बचाउन गरेको यो साहसी निर्णय केवल चिकित्सकीय सफलता मात्र नभई भावनात्मक रूपमा पनि अत्यन्त प्रेरणादायी छ।’
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले अंग प्रत्यारोपणजस्तो जटिल सेवामा पनि निरन्तरता दिदैं आएको छ। अस्पतालमा कलेजो, मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।