२०८२ चैत्र २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण


नेपालगञ्ज–सीड्स नेपालले नेपालगञ्जमा सौन्दर्यकर्मीहरूका लागि एक दिने प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मेरी स्टोप्स नेपाल/सुनौलो परिवार नेपाल कोहलपुरको सहजीकरण तथा सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बाँके, बर्दिया, दाङ र कैलालीका ६१ जना सौन्दर्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा प्रजनन स्वास्थ्य र यसका तत्वहरू, महिनावारी स्वच्छता व्यवस्थापन, यौनिक संक्रमण रोगहरू, संक्रमण रोकथामका उपायहरू, कार्यस्थलको स्वच्छता अभ्यास र व्यवस्थापनलगायतका विषय समेटिएको थियो ।

सीड्स नेपालका अध्यक्ष विकास केसीले कार्यक्रमको मुख्य उद्देश्य विभिन्न ठाउँका सौन्दर्यकर्मीहरूमा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान अभिवृद्धि गर्नु रहेको बताए ।

‘सौन्दर्यकर्मीहरूले आफ्ना ग्राहकहरूसँग लामो समय बिताउने गर्छन् । ग्राहकहरू प्रायः आफ्ना स्वास्थ्य सम्बन्धी समस्याहरू उनीहरूसँग सेयर गर्छन् । त्यसैले महिलाहरूले प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी प्राप्त गर्नु अत्यन्त जरुरी छ । प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी र सेवाहरू प्राप्त गर्नु महिलाको मौलिक अधिकार हो,’ अध्यक्ष केसीले भने, ‘यस्ता जानकारी र सेवाको अभावले महिलाहरूमा असुरक्षित गर्भपतन, मातृ मृत्युदर, यौनिक संक्रमण रोग तथा समग्र स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।’

उनले बाँकेलगायत तराईका जिल्लाहरूमा प्रजनन स्वास्थ्य सम्बन्धी जागरुकताको कमीले महिलाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको बताउँदैं सौन्दर्यकर्मीहरूलाई सशक्त बनाएर समुदायमा सही जानकारी पुर्‍याउन कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ