विराटनगर -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मोरङ र सुनसरीका तीन ठूला अस्पतालको आकस्मिक अनुगमन गरेकी छिन् । बुधबार अनुगमनका क्रममा मन्त्री मेहता विराटनगरस्थित कोशी अस्पताल पुग्दा बिरामीका कुरुवाहरूले अस्पतालभित्रको ‘सेटिङ र सिन्डिकेट’लाई लिएर चर्को गुनासो पोखेका छन् ।
बुधबार बिहान मन्त्री मेहताले सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इनरुवास्थित जिल्ला अस्पतालको अनुगमन गरेकी थिइन् । दिउँसो कोशी अस्पताल पुगेकी उनले सुरुमा आईसीयू र एचओडी वार्डको निरीक्षण गरिन् । अस्पतालका सफा भागहरू हेर्दासम्म सन्तुष्ट देखिएकी मन्त्री जब भुइँ तलामा रहेको आकस्मिक (इमर्जेन्सी) वार्डतर्फ लागिन्, त्यहाँ बिरामीका आफन्तले उनलाई घेरेर अस्पतालभित्रको बेथिति सुनाउन थाले ।
त्यही भीडबाट अगाडि सरेका बेलबारी–७ बाहुनीका बिन्देश चौधरीले मन्त्री सामु आक्रोश पोखे, ‘मन्त्रीज्यू, यहाँ उपचार होइन, व्यापार हुँदो रहेछ ।’ उनका ४७ वर्षीय दाजु ध्रुवनारायण चौधरी खुट्टा भाँचिएर अस्पताल भर्ना भएको १८ दिन भइसक्यो । ७ चैतमा दाजुलाई भर्ना गर्दा सरकारी अस्पतालमा सस्तो उपचार हुने आश राखेका बिन्देशले अहिले ‘इम्प्लान्ट सिन्डिकेट’ को सामना गरिरहेका छन् ।
‘डाक्टरले खुट्टामा स्टिल हाल्नुपर्छ भन्नुभयो र एउटा कागजमा मोबाइल नम्बर टिपाइ दिएर बाहिरबाट सामान ल्याउन भन्नुभयो,’ बिन्देशले मन्त्रीलाई सुनाए, ‘त्यो नम्बरमा फोन गर्दा सुरुमा ४२ हजार रुपैयाँ मागियो । धेरै रोइकराइ गरेपछि ३२ हजारमा सामान त पाइयो, तर बिल दिइएन ।’ उनले डाक्टरले तोकेकै ठाउँबाट सामान नल्याए अप्रेसन नै नगर्ने धम्की दिने गरेको समेत आरोप लगाए ।
यो व्यथा बिन्देशको मात्र होइन । विराटनगर–१८ का दीपककुमार मण्डलले पनि उस्तै गुनासो गरे । उनकी दिदी गाँधी देवी मण्डलको हात भाँचिएको छ । दीपकका अनुसार सुरुमा २० हजारको सामान ल्याउन लगाइएकोमा पछि फेरि ४५ हजार रुपैयाँ थप मागियो । ‘डाक्टरले सेटिङ मिलाएका मान्छेबाहेक अरूसँग सामान लिँदा वास्ता गर्दैनन्,’ उनले भने, ‘यहाँ त बिरामीलाई दुहुनो गाई बनाइएको छ ।’
मन्त्रीको हातमा इम्प्लान्टको बिल
कुरुवाहरूले कोशी अस्पतालको हाडजोर्नी विभागमा तीन वटा सप्लायर्सले चिकित्सकहरूको मिलेमतोमा इम्प्लान्टहरू महँगोमा बिक्री गर्ने गरेको आरोप लगाएका छन् । अस्पतालको अनुसार कोशीमा मधुरा, ग्रिन र युनिभर्सल कम्पनीका इम्प्लान्टहरू प्रयोग हुँदै आएका छन् ।
आफन्तका गम्भीर गुनासो सुनेपछि मन्त्री मेहताले सँगै रहेका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीलाई यसबारे तत्काल सत्यतथ्य बुझ्न र छानविन गर्न निर्देशन दिइन् ।
यता, बिरामीका आफन्तले चिकित्सकहरूमाथि कमिसनको आरोप लगाएपछि मधुरा कम्पनीका सप्लायर सञ्जयकुमार मेहताले भने आफूहरूले पारदर्शी ढङ्गले काम गरिरहेको दाबी गरे । ‘हामीले कम्पनीले तोकेको दररेटभन्दा बढी लिएका छैनौँ र बिल पनि दिने गरेका छौँ,’ उनले भने, ‘हामीले कसैलाई कमिसन दिएका छैनौँ ।’
उनले बिरामीका आफन्तले आफुलाई धम्की दिएको गुनासो गरे । ‘बिरामीका आफन्तबाट मैले बचेको इम्प्लान्टको अझै ७ हजार रुपैयाँ पाउन बाँकी रहेको छ,’ उनले भने ।
युनिभर्सल सप्लायर्सकाका जीवन केसीले बिरामीलाई सहजताको लागि चिकित्सकले सिफारिस गरेको खण्डमा हामीले इम्प्लान्ट दिने गरेको बताए । ‘इम्प्लान्ट फार्मेसीहरु पाइदैन । बिरामीलाई सहजताको लागि चिकित्सकले लेखिदिनुभएको हो,’ उनले भने, ‘त्यसपछि हामीलाई सम्र्पक भएपछि हामीले कम्पनीले तोके अनुसारको दररेट लिएर विरामीलाई इम्प्लान्ट दिने गरेका छौं ।’ यसरी चिकित्कसले सिफारिस गरेबापत कुनै कमिसन नदिने गरेको उनले बताए । ग्रिन कम्पनीका सप्लायर्स ज्योतीसँग भने सम्पर्क हुन सकेन ।
कोशी अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. महेन्द्रप्रसाद मेहताले पनि चिकित्सकहरूमाथि लागेको आरोप अस्वीकार गरे । ‘हामीले तीन वटा कम्पनीको नाम लेखिदिने गर्छौं, सामान बिरामी आफैँले खरिद गरेर ल्याउने हो,’ उनले भने, ‘उनीहरूले ल्याएपछि हामीले लगाइदिने हो, यसमा हाम्रो के दोष ? हामीले पारदर्शी ढङ्गले काम गरिरहेका छौँ ।’
यसअघि इम्प्लान्ट झोलामा बिक्री हुने गरेको खोजमूलक रिपोर्ट हेल्थआवाजले प्रकाशित गरिसकेको छ । तर, त्यसबारेमा स्वास्थ्य मन्त्रालय र मातहतका निकायले अहिलेसम्म ठोस निर्णय लिन सकेका छैनन् ।
यो पनि पढ्नुहोस्