२०८३ वैशाख ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुई पटक म्याद थप्दा पनि बनेन रुकुम पश्चिमको जिल्ला अस्पताल

दुई पटक म्याद थप्दा पनि बनेन रुकुम पश्चिमको जिल्ला अस्पताल


जुम्ला—रुकुम पश्चिमस्थित जिल्ला अस्पताल भवन निर्माणका लागि दुई पटक म्याद थप हुँदा पनि पूरा हुन सकेको छैन । निर्माणको करिब अन्तिम चरणमा रहेको अस्पताल पूरा गरेर हस्तान्तरण गर्न अझै म्याद थप गर्नुपर्ने देखिएको छ ।

वि.सं. २०४५ सालमा निर्माण भएको १५ शय्याको जिल्ला अस्पताल ३७ वर्षसम्म पनि उही संरचना र पूर्वाधारमा सञ्चालन भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले बताए । उनका अनुसार अस्पतालको क्षमता स्तरोन्नती र निर्माणाधीन भवन यथाशक्य निर्माण सम्पन्नका लागि विभिन्न निकायमा धाउँदा पनि समस्या समाधान हुन सकेको छैन ।

वि.सं. २०७८ सालदेखि सुरु भएको अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समेत सहजता आउन सकेको छैन । भौतिक पूर्वाधार र जनशक्ति अभावमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप भने हरेक वर्ष बढिरहेको छ ।

अस्पतालका अनुसार सम्झौता भएको तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी ३१ असार २०७८ मा खानी थोदुङ मिसन जेभी निर्माण कम्पनीले भवन निर्माणको लागि सम्झौता भएको थियो ।

३१ असार २०८१ भित्र निर्माण सम्पन्न हुने गरी २३ करोड १५ लाख पाँच हजार २९१ रुपैयाँमा भवन निर्माणको सम्झौता भएको थियो । तर, अझैसम्म पनि भवन पूरा भएर हस्तान्तरण हुन सकेको छैन । यसबीच दुई पटक म्याद थप भइसकेको छ ।

पछिल्लो समय २८ कात्तिक २०८२ सम्म म्याद थप भएको थियो । त्यसयता म्याद थपका लागि जिल्ला अस्पतालले सघन सहरी विकास कार्यालय जुम्लालाई पत्र भने पठाएको छ तर म्याद थपको पत्र आएको छैन ।

जिल्ला अस्पतालका लेखापाल रामबहादुर केसीका अनुसार हालसम्म अस्पताल भवन निर्माणको ९७ प्रतिशत प्राविधिक र ९५ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ  । निर्माणको अन्तिम चरणमा रहेको भवन हस्तान्तरणका लागि म्याद थपको औपचारिक पत्रसँगै विद्युत जडान, फल्स र एङ्गल मिलानको काम मात्र बाँकी रहेको देखिन्छ । विद्युत लाइन जडानमा हुने थप खर्चसमेत व्यवस्थापन हुन सकेको छैन ।

अस्पतालका अनुसार लामो समयदेखि यहाँ खानेपानीको समेत समस्या भइरहेको छ । स्थानीयले आफूले उपभोग गरिरहेको पानी अस्पताललाई दिएर सहयोग गरिरहेका छन् । यसैगरी अस्पतालबाट सृजित फोहोरको उचित व्यवस्थापन, घेराबार, कर्मचारीको आवाससमेत समस्या भइरहेको छ ।

वि.सं. २०४५ सालमै निर्माण भएको पोस्टमार्टम भवनसमेत जीर्ण अवस्थामा छ । जिल्लामा शवगृह नहुँदा पोस्टमार्टम भवनमै शव राख्नुपर्ने र कहिलेकाहीँ एकभन्दा बढी शव हुँदा व्यवस्थापन तथा सुरक्षामा कठिनाइ हुने गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ