२०८३ भदौ ३१, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन

जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन


जुम्ला—रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका पातारासी गाउँपालिकाका नागरिकको डिएनए परीक्षणका लागि आफन्तको नमुना संकलन गरिएको छ । १० भदौंमा रसुवा भोटेकोशी बाढीमा बेपत्ता नागरिकको डिएनए परीक्षणका लागि आफन्तहरुको रगतको नमुना संकलन गरिएको हो ।

मंगरबार पातारासी गाउँपालिकामा ३२ जनाको रगतको नमुना संकलन गरिएको छ । बुधबार गुठीचौर गाउँपालिकामा डिएनए परीक्षणका लागि नमुना रगत संकलन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाको स्वास्थ्यकर्मीको टोली खटिएको छ । गुठीचौर गाउँपालिकामा ९ जनाको डिएनए नमुना रगत संकलन गर्ने तयारी गरिएको छ ।

पातारासी गाउँपालिकाको लाम्री, तिर्खु, माथिल्लो लोर्पा, तल्लोलोर्पा, बाता र जप्न गाउँमा गरेर ४९ जना व्यक्तिलाई बाढीले बेपत्ता बनाएको छ । रसुवाको भोटेकोशी बाढीले बेपत्ता बनाएको तीन हप्तासम्म पनि कोही पनि सम्पर्कमा आउन नसकेकोले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार डिएनएको लागि रगतको नमुना संकलन गर्न थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईका अनुसार रसुवा बाढीले सबैभन्दा बढी प्रभावित भएका व्यक्ति पातारासी गाउँपालिकाका छन् । उनले भने, ‘लामो समयसम्म सम्पर्कमा नआएपछि डिएनए परीक्षणका नमुना संकलन थालिएको हो ।’

पातारासीमा ४९ जना बाढीमा हराएको तथ्यांक भएपनि ३२ जना पीडित परिवारको डिएनए परीक्षणका लागि नमुना संकलन भएको छ ।कतिपयले डिएनए परीक्षणका लागि संकलन गरिएको नमुना रगत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा राखिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ