वीरेन्द्रनगर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास), जुम्ला र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबीच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।
मंगलबार कर्णाली प्रदेश सरकार मातहतका अन्य जिल्ला अस्पताल एवं स्वास्थ्य संस्थासँग जोड्ने विषयमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतिष्ठानको टोलीसँग छलफल गरेका हुन्।
संघीय सरकारद्वारा सञ्चालित प्रतिष्ठान र प्रदेश सरकार मातहतका निकायबीचको सम्बन्धमा देखिएको अन्तरलाई कम गर्ने विषयमा छलफल केन्द्रित भएको सामाजिक विकासमन्त्री भण्डारीले बताए।
‘यसबाट प्रदेश सरकार र प्रतिष्ठानबीचको आपसी सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता देखिएको छ,’ उनले भने, ‘स्वास्थ्य अनुसन्धानका लागि सहकार्य, उपचार सेवा प्रवाह, आयुर्वेद स्वास्थ्य सेवाको खोज तथा अनुसन्धान, जनशक्ति परिचालन र स्रोत–साधनको उपलब्धताबारे छलफल भएको छ।’