जुम्ला— मुगुको मुगुम कार्मारोङ गाउँपालिका–७ मह गाउँकी ३० वर्षीया साङमु लामा ७ बैशाख साँझ जीवनकै सबैभन्दा कठोर घडीबाट गुज्रिएकी थिइन् । सदरमुकाम गमगढीबाट घर फर्कने क्रममा साँझ करिब साढे ७ बजेतिर च्याप्नेगाडको जोखिमपूर्ण भिरालो बाटोमै उनले शिशुलाई जन्म दिइन् ।
साँझको समय, वरिपरि अँध्यारो, तल सुसाउँदै बगिरहेको कर्णाली नदी र माथि डरलाग्दो भीर । त्यही सन्नाटाबीच एक्लै र असह्य पीडामा छटपटिँदै साङमुले नवजात शिशुलाई जन्म दिइन् । जन्मिएको शिशु रगत र माटोले लतपतिएको अवस्थामा थियो । आमाको अवस्था पनि अत्यन्त कमजोर थियो ।
सुत्केरीपछिको केहीबेरमै साङमुले मोबाइल फोनमार्फत् छायल बजारमा रहेकी आफ्नी साथीलाई खबर गरिन् । खबर पाएलगत्तै ती साथीले छायल स्वास्थ्य चौकीकी अनमी विष्णु रोकाया र प्रसूति केन्द्र छायल गाउँकी तिला मल्ललाई जानकारी दिइन् । त्यसपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली तत्काल उद्धारका लागि घटनास्थलतर्फ खटियो ।
कठिन भूगोल र जोखिमपूर्ण बाटो पार गर्दै पुगेको उद्धार टोलीले साङमु र नवजात शिशुलाई सुरक्षित रूपमा छायल प्रसूति केन्द्र पुर्यायो । स्थानीयका अनुसार अनमी बुढा र मल्ल समयमै नपुगेको भए आमा र शिशु दुवैको ज्यान गुम्न सक्ने जोखिम उच्च थियो ।
तर, शिशुको अवस्था गम्भीर देखिएपछि तत्काल जिल्ला अस्पताल रेफर गरियो । अस्पताल करिब चार घण्टाको दूरीमा रहेकाले यातायात अभावले थप चुनौती खडा गर्यो । यसैबीच स्थानीयले मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावललाई फोनमार्फत् जिप व्यवस्थापनका लागि आग्रह गरेका थिए । अधिकृत रावलको पहलमा जिपको व्यवस्था भएपछि प्रहरी र स्वास्थ्यकर्मीको टोलीले आमा र शिशुलाई जिल्ला अस्पताल पुर्याउन सफल भयो ।
हाल नवजात शिशुको आईसीयुमा उपचार भइरहेको छ । आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी रोकाले जानकारी दिइन् । साङमुका श्रीमान् पेमा राप्के लामाका अनुसार घरमा सानी छोरीको हेरचाह गर्ने कोही नभएकाले उनी घरमै थिए । साङमु केही दिनअघि माइत गएकी थिइन् र फर्किने जानकारी पनि थिएन ।
‘बाटोमै सुत्केरी भएको खबर पाएपछि छायल बजार पुगें तर उनलाई अस्पताल लगिसकिएको रहेछ’ उनले भावुक हुँदै भने, ‘घरमा रहेकी सानी छोरीलाई अरूकै जिम्मा लगाएर अस्पताल पुगें ।’
घटनास्थलमा पुग्दा आमाको शरीर पसिना, रगतले भिजेको र चिसोका कारण नवजात शिशु निलो परेर शरीरभरि माटो लतपतिएको अवस्थामा भेटिएको मल्लले बताइन् ।