डा. रुद्र मरासिनी राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुन् । अर्थोपेडिक्स र ट्रमाको अगुवा संस्थाका रुपमा रहेको राष्ट्रिय ट्रमा सेन्टरले पहिलो पटक सरकारी अस्पतालमा इम्प्लान्टमा सार्वजनिक टेण्डर आव्हान गरेको छ । इम्प्लान्टको मुल्य र गुणस्तर सुनिश्चित गर्नका लागि सार्वजनिक टेण्डर सुरु गरेको ट्रमाले यसअघि स्पाइनका केसहरुमा प्रयोग हुने इम्प्लान्ट पनि टेण्डरमार्फत आपूर्ति गर्दै आएको छ । डा. मरासिनीसँग ट्रमाले गर्न लागेको घुँडाको जोर्नी र हिप प्रत्यारोपणमा प्रयोग हुने इम्प्लान्टको टेण्डर प्रक्रियालगायतका विषयमा हेल्थआवाजले गरेको कुराकानीः
राष्ट्रिय ट्रमा सेन्टरले घुँडा र हिपको इम्प्लान्टको टेण्डर गर्यो होइन ?
हो, हामी आजमात्रै टेण्डर प्रक्रियामा सुरु गरेका छौं । इम्प्लान्टको सबैभन्दा बढी ध्यान दिनुपर्ने क्वालिटीमा हो । मान्छेको शरीरभित्र प्रयोग हुने हुनाले हामीले क्वालिटीमा कम्प्रोमाइज गर्नै सक्दैनौं । मुल्य भनेको दोस्रो हो । सकेसम्म सस्तोमा राम्रो क्वालिटी भइदिएको राम्रो हो । तर, सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीको कम्प्रोमाइज गर्न सकिदैन् ।
ट्रमा सेन्टरले कसरी टेण्डर गरेको हो ?
हामीले विगत लामो समयदेखि विभिन्न सप्लायर्स कम्पनीसँग उनीहरुको दररेट लिने गरिरहेका छौं । कम्पनीसँग रेट लिने, सप्लायर्ससँग रेट लिने र त्यसपछि त्यसको क्वालिटी र रेटलाई एनालाइसिस गरेर एउटा रेट स्वीकृत गर्छौ । त्यो स्वीकृत रेटमा दुई तीन वटा सप्लायर्सले इम्प्लान्ट सप्लाई गर्न पाउँछन् । एउटालाई मात्र दिँदाखेरी ‘कन्फिलिट अफ इन्ट्रेष्ट’ हुन्छ, त्यसकारण हामीले रेट चाहि मिनिमम रेट र फिक्स्ड रेट स्वीकृत गर्ने तर त्यो फिक्स्ड रेटमा विभिन्न किसिमका त्यसमा योग्य सप्लायर्सहरुले सप्लाई गर्छन् । अहिले सूची स्वीकृत भएका सप्लायर्सहरुले इम्प्लान्ट सप्लाई गर्ने मोडलमा हामीले काम गर्दै आएका छौं । तर, अब हामीले टेण्डर नै गरिसकेका छौं । केही महिनामै यो टेण्डर प्रक्रिया सम्पन्न हुन्छ ।
घुँडाको जोर्नी र हिपको इम्प्लान्टमा कुनै सरकारी अस्पतालले पहिलो पटक टेण्डर गर्दैछ ? यसको तयारीमा कति समय लाग्यो ?
हामीले निकै समय लगाएर यो टेण्डरको गरेका छौं । किनभने, यी इम्प्लान्टहरुको गुणस्तर र प्राइसमा निकै भेरियसन भएको र नेपालमा नभएकाले हामीलाई अलिकति समस्या लागत अनुमान बनाउन पनि उत्तिकै गाह्रो भयो भने स्पेसिफिकेसन बनाउन पनि गाह्रो भयो । हजारौं किसिमको भएकाले हामीले टेण्डर गर्न नसकेको हो तर अब त्यो समस्या रहँदैंन् । बाहिरका अस्पतालहरुले पनि गर्न नचाहेरभन्दा पनि गर्न नसकेर टेण्डर नगरेका हुन सक्छन् ।
राष्ट्रिय ट्रमा सेन्टर देशकै अगुवा संस्था हो । यसले बनाउने मापदण्ड अरु अस्पतालका लागि पनि अनुकरणीय हुन सक्छ ?
अवश्य । यसमा हामीले गुणस्तर र मुल्यलाई मुख्य आधार बनाएका छौं । हामीले गुणस्तरमा कम्तिमा युरोपियन उत्पादन मापदण्ड (सिई) हुनुपर्छ अथवा अमेरिकन फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेशन (एफडिए) एप्रुभ्ड हुनुपर्छ । एफडिए मान्यता प्राप्त अलि महंगो हुन सक्छ, यो नपाएको अलि कम महंगो हुन सक्छ । त्यो दुईटैको दररेट हामीले टेण्डरमार्फत मागेर त्यसलाई हामीले एनालाइसिस गर्छौ । हाम्रोमा विज्ञ र चिकित्सकहरु भएको थेरापियुटिक कमिटी छ, त्यसले एनालाइसिस गर्छ । यसमा हामीले कम मुल्य भएकोलाई नै स्वीकृत गर्नुपर्छ भन्ने जरुरी छैन । यसमा हामीले सबभन्दा पहिले हेर्ने क्वालिटी हो, त्यसपछि हामीले प्राइस हेर्छौ । त्यो लाइनमा हामीले वर्कअप गरेका छौं । किनभने, इम्प्लान्ट भनेको यति सेन्सेटिभ चीज हो, तपाईले प्राइसमात्रै हेर्नुभयो भने भोलि गएर ठूलो दुर्घटना हुन सक्छ । बिरामीको शरीरभित्र प्रयोग हुने चीज हो, जुन वर्षौवर्ष काम गर्नुपर्ने चीज हुन्छ, त्यसमा हामीले प्राइसले १०—१५ हजारमा कम्प्रोमाइज गर्यौं भने बिरामीले जिन्दगीभर दुःख पाउन सक्छ । प्राइस त सस्तो हुनुपर्यो तर क्वालिटीमा हामीले कम्प्रोमाइज गर्दैनौं । निकै सस्तो छ क्वालिटी राम्रो छैन भने त्यो नलिएर राम्रो क्वालिटीको त्यो भन्दा राम्रो क्वालिटीको लिन सकिन्छ । त्यो हिसाबले हामीले टेण्डरमा वर्कअप गरेका छौं ।
भनेपछि टेण्डरपछि राष्ट्रिय ट्रमा सेन्टरले इम्प्लान्ट आफ्नो फार्मेसीबाट उपलब्ध गराउँछ ?
अवश्य । हामीले यो सबै टेण्डर गर्न लागेकै फार्मेसीबाट उपलब्ध गराउनका लागि हो । अहिले जुन रेटमा बिरामीले इम्प्लान्ट लिइरहनुभएको छ टेण्डरबाट पनि त्यही रेटमा आउन सक्छ, अहिलेको रेट पनि त्यति धेरै छैन । तर, प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट नगरेको भएकाले मात्र हामीले फार्मेसीबाट बिल काट्न पाइरहेका छैनौं । फार्मेसीबाट बिल काट्नका लागि त यो वर्षको करोडौं टर्नओभर हुन्छ । करोडौंको टर्नओभर हुने चिजमा सार्वजनिक खरिद ऐनलाई फ्लो नगर्दा हस्पिटलबाट बिलिङ गर्न सकिदैंन् । मुख्यतयाः हस्पिटलबाट बिलिङ गर्ने सिष्टममा ल्याउनका लागि हामीले टेण्डर गर्न लागेका हौं । इम्प्लान्टको क्वालिटी र रेटका हिसाबले अहिले पनि ठीक छ । टेण्डरको प्रक्रियापछि हामीले फार्मेसीको बिल दिन्छौं ।
तर, सिष्टम उही हुन्छ, इम्प्लान्ट ल्याएर हामीले फार्मेसीमा थुपारेर राख्दैनौं । सर्टेन इम्प्लान्टलाई स्वीकृत गर्छौ, जुन इम्प्लान्ट लाग्छ त्यो इम्प्लान्ट मात्रै सप्लायर्सले ल्याएर ओटीमा दिन्छ । बिरामीलाई प्रयोग हुन्छ, फार्मेसीबाट बिलिङ हुन्छ ।
अस्पतालकै बिलिङ प्रक्रियामा आइसकेपछि बिरामी ठगिने सम्भावना सकियो होइन् त ?
अस्पतालकै बिलिङ प्रक्रियामा आएपछि गुणस्तर र मुल्यमा बिरामी ठगिने समस्या समाधान हुन्छ । ठगिने त कुरै भएन, कम गुणस्तरको पर्ने सम्भावना पनि रहँदैंन् । खरिद ऐनले धरौटी राख्नुपर्ने, अथोराइजेसन, कर चुक्ता हुनुपर्नेलगायतका प्रावधान राखेको छ । यो सबै पूरा गरेको मान्छे त एउटा स्ट्याण्डर्ड मान्छे हो । सप्लायर्स नै भएपनि स्ट्याण्र्ड सप्लायर्स हो । जो पायो त्यहीले झोलामा ल्याएर बिक्री गर्न पाएन । टेण्डर जस्तो पायो त्यस्तो मान्छेले बिड पनि गर्न सक्दैन्, कमसल सामान आउन पनि आउँदैन् ।
यो टेण्डर प्रक्रिया अन्य अस्पतालहरुका लागि पनि रिफरेन्स बन्न सक्छ ?
मलाई लाग्छ, हामीले टेण्डर गरिसकेपछि नेपाल सरकारका अरु अस्पतालले गर्नै पर्दैन, यहाँबाट रेट लिएर गरिदिए हुन्छ । किनभने, यो एकदमै झन्झटिलो काम छ । अरु अस्पतालहरुले गर्न पनि गाह्रो छ । जनरल अस्पतालले त अझ धेरै कुराहरु हेर्नुपर्छ, हाम्रो त अर्थोपेडिक्स ट्रमा धेरै हुन्छ । हामीलाई दुई महिना जति लाग्छ, हामीले यो क्वालिफाई गर्यो भने अरु विराटनगर, भरतपुर, पोखरालगायतका अस्पतालहरुले टेण्डर गर्न सक्नुहुन्न भने राष्ट्रिय ट्रमा सेन्टरबाट रिफरेन्स मागेर काम गर्न मिल्छ ।