२०८३ वैशाख १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार

भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार


बाँके — भेरी अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको छ। बैजनाथ गाउँपालिका–६ की ६२ वर्षीया महिलाको १३ बैशाखमा अचानक स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएपछि मृत्यु भएको हो।

उनी पेट तथा छातीसम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएकी थिइन्। साथै ग्यास्ट्राइटिस (APD), हाइपोथाइरायडिज्म, उच्च रक्तचाप तथा टाइप–२ मधुमेहजस्ता दीर्घरोगबाट पनि पीडित थिइन्। उपचारका क्रममा उनलाई निगरानीमा राखी इसिजी, इको तथा कार्डियाक इन्जाइम लगायतका परीक्षणहरू पटक–पटक गरिएको थियो। बिरामीको अवस्थालाई ध्यानमा राख्दै बहुविधागत सहकार्यअन्तर्गत ग्यास्ट्रोलोजिस्ट र मनोरोग विशेषज्ञसँग समेत परामर्श गरिएको थियो।

उपचारका क्रममा रोगको स्पष्ट निदान हुन नसकेपछि ११ बैशाखमा अन्यत्र ‘क्रस ओपिनियन’ का लागि रिफर गर्ने निर्णय गरिएको भए पनि बिरामीको अवस्थामा केही सुधार देखिएपछि अस्पतालमै उपचार जारी राखिएको अस्पतालले जनाएको छ।

घटनापछि सोही दिन अस्पताल प्रशासन र बिरामी पक्षबीच छलफल भएको थियो। त्यसपछि १४ बैशाखमा अस्पताल प्रमुख, विभागीय प्रमुखहरू, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा पुनः छलफल सम्पन्न भएको थियो। छलफलका क्रममा चिकित्सकीय सीमितता तथा नियन्त्रण बाहिरका कारणले यस्ता घटना हुन सक्ने विषयमा जानकारी गराइएको अस्पतालको भनाइ छ।

अस्पतालले उपचारमा नियतवश त्रुटि भएको आशंका भए सम्बन्धित निकायमार्फत अनुसन्धान गर्न बिरामी पक्ष स्वतन्त्र रहेको स्पष्ट पारेको छ। तर दबाबका आधारमा लापरवाही स्वीकार नगर्ने अडान पनि व्यक्त गरेको छ।

यसैबीच, १५ बैशाख बिहान करिब १०:३० बजे मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि कार्यकक्षमै गालीगलौज, धम्की तथा हातपातको प्रयास गरेका छन

त्यस्तै, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमाथि पनि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको अस्पतालले जनाएको छ। यस घटनाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको बताइएको छ।

अस्पतालले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।

घटनापछि अस्पतालका केही सेवाहरू प्रभावित हुन सक्ने अवस्था सिर्जना भएको भन्दै अस्पतालले सबैलाई संयमता अपनाउन अनुरोध गरेको छ। साथै, अतिरञ्जित प्रचारप्रसारले चिकित्सक–बिरामी सम्बन्धमा असर पार्न सक्ने भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ