नेपालगन्ज-नेपालगन्जस्थित भेरी अस्पतालका आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन् । चिकित्सकमाथि दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लागेका कुशल दर्लामी पक्राउ परेपछि स्वास्थ्यकर्मीहरू नियमित सेवामा फर्किएका हुन् ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आफ्नो नियमित काममा फर्किएको जनाएको छ । घटनापछि आन्दोलित बनेका स्वास्थ्यकर्मीहरू काममा फर्किए पनि चिकित्सकहरूले केही महत्वपूर्ण माग अघि सारेका छन् ।
उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)अनुसार दोषीमाथि कडा कारबाही गर्न, घटनामा संलग्न अन्य व्यक्तिहरूलाई २४ घण्टाभित्र पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन तथा सामाजिक सञ्जालमा राखिएका गाली–गलौजका भिडियो हटाउन माग गरेका छन् ।
त्यसैगरी अस्पताल परिसरभित्र फोटो तथा भिडियो खिच्न अस्पताल प्रशासनको पूर्वस्वीकृति अनिवार्य गर्नुपर्ने मागसमेत गरिएको छ ।
चिकित्सकहरूले आफ्ना माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । मंगलबारदेखि ओपीडी लगायत सेवा प्रभावित हुँदा पश्चिम नेपालको प्रमुख सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका थिए ।
