नेपालगन्ज—उपचारका क्रममा आफन्तको मृत्यु भएपछि भेरी अस्पताल नेपालगन्जका प्रमुख र उपचारमा संलग्न चिकित्सकहरुमाथि दुर्ब्यहार र ज्यान मार्ने दिने व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन सम्बन्धी मुद्धामा अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले प्रेस विज्ञप्ती नै जारी गरेर चिकित्सकहरुमाथि दुर्ब्यहार र ज्यान मार्ने धम्की दिने बाँके बैजनाथका कुशल दर्लामीलाई पक्राउ गरी जिल्ला अदालत बाँकेबाट तीन दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
आन्दोलनमा उत्रिएका चिकित्सकहरुको माग बमोजिम नै अभियुक्त दर्लामी उपर प्रहरीले मुद्दा दर्ता गरी कानुनी कारवाहीको प्रक्रिया सुरु गरेको हो ।
विद्युतीय कारोबार ऐन मुद्दामा दोषी ठहर हुने अभियुक्तलाई दफा ४७ बमोजिम एक लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
त्यसैगरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (२०७९ को संशोधनसहित) मो मुद्दामा दोषी ठहर हुने अभियुक्तलाई १ वर्षसम्म कैद वा १ लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी ब्यवस्था छ ।
१३ बैशाखमा उपचारका क्रममा बाँकेको बैजनाथ गाउँपालिका—की ६२ वर्षीया बिरामी दिलसरा विकको भेरी अस्पतालमा मृत्यु भएको थियो । उनमा हाइपोथाइराइडिज्म, टाइप–२ मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । दिलसराको मृत्यु भएको दुई दिनपछि १५ बैशाखमा अभियुक्त कुशल दर्लालीसहितको समूहले अस्पताल प्रमुखलाई कार्यकक्षमै घेराउ गर्दै चिकित्सकहरुको लापरबाहीले आफन्त गुमाउनु परेको भन्दैं उपचारमा संलग्न भेरी अस्पतालका मुटु रोग विशेषज्ञ डा. विकास नेपाल, मेडिसिन विभागका प्रमुख डा. राजन पाण्डे र अस्पताल प्रमुख डा. निराजन सुवेदीमाथि दुर्ब्यवहार गर्नुका साथै ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।
अभियुक्त दर्लामीले चिकित्सकहरुलाई दुर्व्यबहार गर्दै ज्यान मार्नेसम्मको धम्की दिने आशयको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
दिलसरा विकको मृत्युपछि उपचारमा संलग्न चिकित्सक र अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टलाई कार्यकक्षमै पुगेर दुर्व्यवहार र ज्यान मार्ने धम्की दिने आशयको भिडियो सामाजिक संजालमा पोष्ट भएपछि भेरी अस्पतालका चिकित्सकहरुले आफूहरुमाथि दुर्व्यवहार र ज्यान मार्ने धम्की दिने समूहमाथि कारबाही र सुरक्षाको प्रत्याभुतिको माग गर्दै अस्पतालको इमर्जेन्सीलगायत अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।
चिकित्सकहरूमाथि दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लागेका कुशल दर्लामी पक्राउ परेपछि दोषीमाथि कारबाही र सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरू ड्युटीमा फर्किएका छन् ।