ललितपुर—ग्वार्कोस्थित बीएण्डबी अस्पताल र सुन चाँदी व्यवसायी संघ ललितपुरको आयोजनामा स्वास्थ्य शिविर एवं रक्तदान सम्पन्न भएको छ । शनिबार मछिन्द्रबहालमा आयोजित शिविरमा १ सय ९२ जनाले सेवा लिएको ललितपुर सुन चाँदी व्यवसायी संघका अध्यक्ष सुवीन बज्राचार्यले जानकारी दिए ।
सुन चाँदी व्यवसायी संघ ललितपुरका संस्थापक अध्यक्ष ज्ञानुराज शाक्यको पाचौं स्मृति दिवसको अवसरमा संघको महिला उपकमिटीले शिविर आयोजना गरेको हो । शिविरका क्रममा ६० जना बिरामीले हाडजोर्नी, १ सय ३३ जनाले सामान्य चिकित्सा र ५३ जनाले स्त्रीरोग सम्बन्धी सेवा लिएका छन् । सो क्रममा ४५ जनाको प्यापस्मेयर परीक्षण गरिएको छ भने ९७ जनाको इसिजी गरिएको छ ।
उपचारका लागि बीएण्डबी अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा. तरुण राजभण्डारी, स्त्रीरोग विशेषज्ञ डा. समृद्धि बस्नेत र जनरल फिजिसियन डा. सरिता पाण्डे सहभागी थिए । त्यस्तै, मेडिकल अफिसरहरु डा. अनमोल रौनियार, डा. अनिरद्र अधिकारी, डा. पशुपति शाह, डा. सिमा गुप्ता, डा. सजिना शाक्य, डा. एलिजा अवाले र डा. रुवी ताम्राकार संलग्न थिए ।
पछिल्लो समयमा व्यस्त जीवनशैली र असन्तुलित खानपानका कारण मानिसलाई विभिन्न रोगले आक्रमण गर्ने क्रम बढेको भन्दै सुन चाँदी व्यवसायी संघ र बीएण्डबी अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको संघका अध्यक्ष बज्राचार्यले बताए । साथै, बज्राचार्यले हालैमात्र बीएण्डबी अस्पतालसँग आफूहरुले सम्झौता गरेअनुसार सुन चाँदी व्यवसायीलाई अस्पतालमा विशेष छुटका साथ परीक्षण र उपचारको व्यवस्था गरिएको पनि बताए ।