विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको हातामा छुट्टै रौनक थियो । बुधबार दिउँसो १२ बजे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरी आफैं कुचो समातेर अस्पताल परिसर बाहिर बढारिरहेका थिए ।
‘सरसफाइ सप्ताह’ मनाउन व्यस्त स्वास्थ्यकर्मी र कर्मचारीहरू कार्यालयको बाहिरी भाग चम्काउन तल्लीन देखिन्थे । तर, बाहिर कुचो चल्दै गर्दा अस्पतालको भित्री प्रशासनिक र सेवाको अवस्था भने कमजोर देखिएको छ ।
अस्पताल बाहिर सरसफाइ अभियान चलिरहेकै बेला जिल्ला प्रशासन कार्यालय मोरङको टोली आकस्मिक अनुगमनका लागि पुग्यो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहित आएको टोलीलाई देख्नेबित्तिकै सरसफाइ अभियानलाई थाती राखेर मेसु डा. चौधरी आफ्नो कार्यकक्षतिर लागे । अनुगमन टोलीले जब हाजिरी रजिस्टर पल्टायो, तब कोशी अस्पतालको केही स्वास्थ्यकर्मी र चिकित्सक हाजिर गरेर बाहिर गएको खुलेको छ ।
सरसफाइ कार्यक्रममा कोशी अस्पतालका मेसु डा. रामनारयण चौधरीसहित ।
कागजमा ७ सयभन्दा बढी कर्मचारीको दरबन्दी छ । तर, फिल्डमा १३७ जना गयल भएको पाइएको छ । हाजिरी रजिस्टरमा ‘हाजिर’ जनाएका कतिपय चिकित्सकहरू कार्यकक्षमा भेटिएनन् ।
दैनिक ८ सयभन्दा बढी बिरामीको चाप हुने कोशी अस्पतालमा बिरामी र तिनका आफन्तको एउटै साझा गुनासो हुन्छ – ‘डाक्टर भेटिँदैनन् ।’ अस्पतालमा हाजिर ठोक्ने र त्यसको केही बेरमै निजी क्लिनिक वा नर्सिङ होमतिर टाप कस्ने लाग्ने रोगले कोशीलाई थला पारेको देखियो ।
‘जनगुनासो आएपछि हामीले अनुगमन गरेका हौं । अनुगमनका क्रममा अस्पतालको प्रशासनिक पक्ष पनि केही कमजोरी पाइएको छ । त्यसलाई सुधार गर्न हामीले निर्देशन दिएका छौं,’ प्रजिअ कोइरालाले भने ।
प्रशासनले लापरवाहीमाथि प्रश्न उठाउँदा केही चिकित्सकहरू भने उल्टै रुष्ट बनेका थिए । ड्युटी समयमा कार्यकक्षमा नभेटिएका उनीहरूले प्रशासनको टोलीलाई ‘दुःख दिएको’ भन्दै असन्तुष्टि जनाए । बिरामीको सेवाभन्दा पनि आफ्नो सुविधा र बाहिरी कामलाई प्राथमिकता दिने प्रवृत्तिका कारण कोशीको साख गिर्दो छ ।
मेसु डा. चौधरी भने अझै पनि अस्पताल सुधारकै क्रममा रहेको दाबी गर्छन् । प्रशासनको कमजोरी भएको टिप्पणीलाई अस्वीकार गर्दै उनले भने, ‘बाहिरको सरसफाइजस्तै भित्री व्यवस्थापनमा पनि हामीले सुधार गरिरहेका छौं । पहिलेभन्दा अवस्था धेरै बदलिएको छ ।’