२०८३ जेठ ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यधूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा

धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा


काठमाडौं— धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत छुटाउन प्रभावकारी मानिएको औषधि ‘निवार-भेरिनिकलाइन’ (NIWAR–VERNICLINE CITRATE)  नेपाली बजारमा उपलब्ध भएको छ । ‘निवार- वार अगेन्स्ट निकोटिन’ भन्ने सन्देशसहित यो औषधिको ०.५ एमजी र १ एमजीका ट्याब्लेट पहिलो पटक नेपालमा  ह्युमन लाइफ साइन्स प्राइभेट लिमिटेडद्वारा बजारमा ल्याइएको हो।

जर्मनीको प्रतिष्ठित फर्मा कम्पनी टिफेनबाचेर ल्याबोरेटोरिज (TIFENBACHER LABORATORIES) को सतप्रतिशत सब्सीडरी कम्पनी एईटी ल्याब्रोटोरी प्रा.लि.ले उत्पादन गरेको उक्त औषधि युरोपियन जीएमपी (ईयु—जीएमपी) तथा एमएचआरए एप्रुभ्ड मापदण्डअनुसार निर्माण गरिएको कम्पनीले जनाएको छ।

ह्युमन लाइफ साइन्स प्रा.लि. का प्रमुख रामानन्द दासका अनुसार, ‘निवार-भेरिनिकलाइन’ ले धुम्रपान तथा सुर्ती सेवनप्रतिको तीव्र इच्छा कम गर्नुका साथै धुम्रपान छोड्ने क्रममा देखिने छटपटी, तनाव तथा लत छुटाउँदा देखिने लक्षणहरूलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ।

उनले भने, ‘भेरिनिकलाइनलाई विश्वभर धुम्रपान त्याग थेरापीमा सबैभन्दा प्रभावकारी औषधिमध्ये एक मानिन्छ। विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानमा यसको सफलता दर ४४ प्रतिशतसम्म देखिएको छ, जुन स्मोकिङ सेन्सेसन थेरापी (smoking cessation therapy) मा उल्लेखनीय उपलब्धि हो।’

उनका अनुसार निकोटिनले मस्तिष्कमा सिर्जना गर्ने प्लेजर (pleasure) वा रिल्याक्सेसन इफेक्ट (relaxation effect) लाई यो औषधिले क्रमसः कमजोर बनाउँछ। धुम्रपान नगर्दा हुने बेचैनी, तलतल तथा पुनः चुरोट वा सूर्ती सेवन गर्ने चाहना कम गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

कम्पनीकाअनुसार, हालसम्म प्रयोग हुँदै आएका निकोटिन चुइँगम, निकोटिन प्याच वा अन्य निकोटिन रिप्लेसमेन्ट थेरापी (NRT) हरूले शरीरलाई वैकल्पिक माध्यमबाट निकोटिन उपलब्ध गराउने भएकाले उपचार बन्द गरेपछि पुनः निकोटिनको आवश्यकता महसुस हुन सक्छ । यसका कारण धेरै व्यक्तिहरू पुनः धुम्रपान वा सूर्ती सेवनतर्फ फर्किने सम्भावना रहन्छ।

तर ‘निवार-भेरिनिकलाइन’ ले निकोटिनप्रतिको मानसिक निर्भरता कम गर्दै शरीरलाई प्राकृतिक अवस्थामा फर्काउन मद्दत गर्ने कम्पनीको दाबी छ। चिकित्सकको प्रेस्क्रिप्सनमा मात्र प्रयोग गर्न मिल्ने यो औषधिले धुम्रपान तथा सूर्ती सेवनको स्वाद र आकर्षण क्रमसः घटाउँदै लैजान मद्दत गर्ने कम्पनीले जनाएको छ ।

औषधि व्यवस्था विभागको स्वीकृतिपछि नेपाली बजारमा ल्याइएको उक्त औषधि स्मोकिङ सेन्सेसन थेरापी  क्षेत्रमा नयाँ विकल्पको रूपमा हेरिएको छ ।

कम्पनीका अनुसार ४५ हजारभन्दा बढी व्यक्तिमा गरिएको क्लिनिकल अध्ययनमा प्रेस्क्राइब डोज पूरा गर्नेमध्ये करिब ४४ प्रतिशतले धुम्रपान छोड्न सफल भएका थिए भने करिब २३ प्रतिशत व्यक्तिले एक वर्षपछि पनि धुम्रपान नगरेको तथ्यांकले देखाएको छ ।

भेरिनिकलाइन अहिले युरोप तथा विश्वका विभिन्न देशहरूमा निकोटिनको लत व्यवस्थापनमा व्यापक रूपमा प्रयोग हुँदै आएको छ । ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा उपलब्ध भएसँगै धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहने व्यक्तिहरूका लागि यो औषधि महत्वपूर्ण सहयोगी बन्ने अपेक्षा गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार नेपालमा करिब २४ प्रतिशत मानिस कुनै न कुनै रूपमा धुम्रपान वा सुर्तीजन्य पदार्थको सेवन गर्छन् । सरकारी तथ्यांकअनुसार धुम्रपानका कारण नेपालमा हरेक वर्ष करिब ३९ हजार मानिसको मृत्यु हुने गरेको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार धुम्रपानले हृदयघात, स्ट्रोक, फोक्सोको क्यान्सर, दम, दीर्घ खोकी, मुख स्वास्थ्य, श्वासप्रश्वास सम्बन्धी समस्या तथा प्रजनन स्वास्थ्यमा गम्भीर असर पार्ने गर्दछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ