२०८३ जेठ ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो एमआरआई र सिटी स्क्यान सेवा

टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो एमआरआई र सिटी स्क्यान सेवा


विराटनगर । मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनमा अत्याधुनिक एमआरआई तथा सिटी स्क्यान सेवा सञ्चालनमा आएको छ ।

अस्पताल परिसरमा शुक्रबार आयोजित एक कार्यक्रमबीच अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलले उक्त सेवाको औपचारिक उद्घाटन गरेका हुन् ।

अस्पताल स्थापनाको एक वर्षमै अत्याधुनिक स्वास्थ्य उपकरण जडान गरी सेवा विस्तार गरिएको अध्यक्ष मण्डलले बताए । उनका अनुसार अस्पतालमा विश्वप्रसिद्ध जापानी कम्पनीको FUJIFILM ECHELON Smart 1.5 Tesla MRI System तथा १२८ स्लाइस सिटी स्क्यान मेसिन जडान गरिएको हो ।

अस्पतालले सिटी स्क्यान सेवाका लागि करिब साढे चार करोड रुपैयाँ तथा एमआरआई मेसिनका लागि करिब १० करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।

हाल २०० शय्याको अस्पताल सञ्चालनमा रहेको तथा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले आगामी दिनमा क्याथल्याब तथा कार्डियो सेवा समेत सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको छ ।

“सबैका लागि गुणस्तरीय, प्रविधियुक्त र किफायती स्वास्थ्य सेवा” भन्ने मूल नारासहित सञ्चालनमा रहेको अस्पतालले अत्याधुनिक डायग्नोस्टिक इमेजिङ सेवा सुरु गरेसँगै मोरङ, कटहरी, जहदा लगायत क्षेत्रका साथै छिमेकी मुलुक भारतका नागरिकलाई समेत सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास लिएको छ ।

अस्पतालका अनुसार अब सामान्य एमआरआई वा सिटी स्क्यान सेवाका लागि बिरामीले टाढाका सहर धाउनुपर्ने बाध्यता अन्त्य हुने छ । स्थानीय स्तरमै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ