विराटनगर—औषधि व्यवस्था विभागको अनुगमन टोली देखेपछि विराटनगरस्थित कोशी अस्पताल क्षेत्रका औषधी पसलहरूमा खैलाबैला मच्चिएको छ । बुधबार विभागले आकस्मिक अनुगमन सुरु गरेपछि कैफियत भेटिएका दुई फार्मेसी सिल गरिएको छ ।
विभागको कारवाहीमा परिने डरले अन्य आधा दर्जनभन्दा बढी पसल सञ्चालक सटर झारेर फरार भएका छन् । औषधि व्यवस्था विभाग विराटनगरकी निमित्त प्रमुख सचिता बर्माको नेतृत्वमा खटिएको टोलीले अस्पतालको उत्तरतर्फ रहेको गुरु मेडिकल हलबाट अनुगमन सुरु गरेको थियो । उक्त मेडिकल हलमा एउटै फर्मासिस्टले दुईतिर लाइसेन्स भाडामा लगाएको र म्याद गुज्रिएका औषधिसमेत बिक्रीका लागि राखिएको पाइएपछि टोलीले तत्काल पसल सिल गरेको छ ।
पछिल्लो समय औषधि पसलका सञ्चालकहरूले फर्मासिस्टको लाइसेन्स मासिक १२ देखि १५ हजार रुपैयाँसम्म तिरेर भाडामा लिने गरेको पाइएको छ । अनुगमन टोली पुग्दा सञ्चालकहरूले तुरुन्तै लाइसेन्सधारी फर्मासिस्टलाई बोलाउने गर्दछन् । तर, यसपटक विभागको टोलीले लाइसेन्सको दोहोरो प्रयोग र जनशक्ति भौतिक रूपमै उपस्थित रहे÷नरहेको विषयमा कडाइका साथ जाँच गरेको छ ।
विभागका सूचना अधिकारी एवं फार्मेसी निरीक्षक दिपेन्द्र खड्काका अनुसार गुरु मेडिकल हलका फर्मासिस्ट सुरेन्द्र मण्डलले आफ्नो लाइसेन्स दुई ठाउँमा प्रयोग गरेको पुष्टि भएको छ । उनी विराटनगर–१५ स्थित रानी अस्पतालको फार्मेसी र गुरु मेडिकल हल दुवै ठाउँमा कार्यरत रहेको कागजात भेटिएको हो । ‘औषधि ऐनअनुसार एउटै व्यक्तिले दुईतिर लाइसेन्स भाडामा लगाउन वा काम गर्न पाउँदैन,’ खड्काले भने, ‘यसरी कानुन मिच्नेको लाइसेन्स ६ महिनासम्म निलम्बन गरी अनुसन्धान अघि बढाउने अधिकार हामीलाई छ । सोहीअनुसार कारवाही प्रक्रिया अघि बढाएका छौं ।’
यस्तै, अनुगमनका क्रममा न्यु अपेक्षा उपचार क्लिनिकका सञ्चालक पसल छाडेर भागेपछि उक्त फार्मेसी पनि सिल गरिएको छ । विभागले फोन गरेर बोलाउँदा समेत सञ्चालक सम्पर्कमा नआएपछि बाध्य भएर सिलबन्दी गरिएको टोलीले जनाएको छ ।
अनुगमन टोली अस्पतालको दक्षिणतर्फ रहेको विपश्यना फार्मेसी पुगेलगत्तै कोइराला निवासतर्फ जाने बाटोमा रहेका अन्य पसलहरूमा भागाभाग भएको थियो । बुधबार बिहानसम्म खुलै रहेका मुस्कान क्लिनिकलगायतका आधा दर्जन पसलहरू अनुगमनको सूचना पाउनेबित्तिकै सटर लगाएर बन्द गरिएका थिए ।
फरार रहेका ती पसलहरूमा पुनः छड्के अनुगमन गरिने विभागले जनाएको छ । औषधि पसलमा फर्मासिस्ट नबस्ने र औषधिको अनुचित बिक्री वितरण भइरहेको जनगुनासो बढेपछि विभागले सक्रियता देखाएको हो ।
अनुगमनका क्रममा टोलीले औषधि बिक्री वितरण संहिताअनुसारको मापदण्ड अनिवार्य पालना गर्न व्यवसायीहरूलाई निर्देशन समेत दिएको छ ।