काठमाडौं—हिमाली क्षेत्रमा आरोहणका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘टेलिहेल्थ उपकरण’ प्रयोगमा ल्याइएको छ ।आरोग्य नेपाल टेकले पदयात्रा जाने पदयात्रीको स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी र भरपर्दो बनाउने उद्देश्यले सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, मनास्लु र लाङटाङलगायतका पर्यटकीय गन्तव्यमा ‘टेलिहेल्थ उपकरण’ प्रयोगमा ल्याइएको हो ।
आरोग्य नेपाल टेकका सञ्चालक शिव पौडेलले पदयात्राका कारण उच्च उचाइका कारण हुने अक्सिजनको कमी, रक्तचापमा आउने उतार—चढाव र उचाइजन्य स्वास्थ्य समस्याको जोखिमलाई न्यूनीकरण गर्न पर्यटकीय क्षेत्रमा उक्त मेसिन प्रयोगमा ल्याइएको जानकारी दिए ।
उनले ट्रेकिङ गाइड, उद्धार टोली, स्वास्थ्यकर्मी तथा पर्यटन क्षेत्रसँग विभिन्न निकायले उक्त मेसिनलाई सञ्चालनमा ल्याएको बताए।
नुवाकोट रसुवा पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले आगामी जेठ १८ देखि २३ गतेसम्म हुन लागेको लाङटाङ टे«ल रन प्रतियोगितामा दौड प्रतियोगितामा सहभागी खेलाडीको स्वास्थ्य परीक्षणका लागि उपकरणलाई प्रयोगमा ल्याउन लागिएको जानकारी दिए ।
उनले उक्त उपकरणलाई लाङटाङ, केन्जिन गुम्बा र स्याप्रुबेसीमा मेसिन राखेर खेलाडीको स्वास्थ्य परिक्षण गरिने बताए। आरोग्य नेपाल टेकका अनुसार यो एक आधुनिक पोर्टेबल टेलिहेल्थ उपकरण हो । जसले तत्कालै स्वास्थ्य जानकारी दिनेछ ।
उक्त उपकरणले ईसीजी, रक्तचाप, रगतमा अक्सिजनको मात्रा, पल्स रेट, शरीरको तापक्रम र रगतमा ग्लुकोजको मात्राजस्ता महत्वपूर्ण स्वास्थ्य सूचकबारे तत्कालै जानकारी प्रदान गर्नेछ । उपकरणबाट प्राप्त सबै विवरण मोबाइल एपमार्फत सुरक्षित रूपमा हेर्न, भण्डारण गर्न र तत्काल रिपोर्ट तयार गर्न सकिने सुविधा रहेको आरोग्य नेपाल टेकले जनाएको छ ।
हलुका र बोक्न सजिलो भएको उक्त मेसिन दुर्गम क्षेत्रमा सजिलै लैजान सकिने सञ्चालक पौडेलले बताए । उक्त मेसिनलाई दुर्गम क्षेत्रका साथै सुगम क्षेत्रमा समेत सजिलै प्रयोग गर्न सकिनेछ ।