इलाम—जिल्ला अस्पताल इलाममा चालु आर्थिक वर्षमा फिजियोथेरापी सेवा सञ्चालनको लागि विनियोजन गरिएको उपकरण खरिदको बजेट फ्रिज हुने सम्भावना बढेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र खरिद इकाई समितिले बेलैमा खरिद प्रक्रिया अगाडि नबढाउँदा विनियोजन गरिएको १५ लाख रुपैयाँ फ्रिज हुने देखिएको हो ।
जसले गर्दा अस्पतालमा फिजियोथेरापी सेवा ठप्प हुने भएको छ भने सेवा ठप्प हुँदा बिरामीले सास्ती पाएका छन् । जिल्ला अस्पताल इलाममा फिजियोथेरापिस्टको दरबन्दी वर्षौंदेखि रिक्त थियो । गत ३१ असोजमा संजीत मेहता पदस्थापन भएर आएपछि अस्पतालमा यो सेवा सुरु हुनेमा स्थानीय ढुक्क थिए ।
तर, मेहताले अस्पताल हाजिर गरेको ८ महिना बितिसक्दा पनि अस्पताल प्रशासन र स्टोरले फिजियोथेरापीका लागि समयमा मेसिन खरिद गर्न सकेको छैन । ‘मैले यहाँ आएदेखि नै बिरामीलाई परामर्श मात्र दिइरहेको छु,’ फिजियोथेरापिस्ट मेहता भन्छन्, ‘उपकरण बिना फिजियोथेरापी सेवा सम्भव छैन । पर्याप्त ठाउँ र उपकरण भइदिएको भए धेरै बिरामीले राहत पाउने थिए । तर, अहिले म आफैं पनि कामविहीन जस्तै हुनु परेको छ ।’
चालु आर्थिक वर्षमा फिजियोथेरापी उपकरण खरिदका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, अस्पताल प्रशासन र खरिद इकाईको सुस्तताका कारण यो बजेट फ्रिज हुने निश्चित प्रायः देखिएको छ । अस्पतालले उपकरण खरिदका लागि २२ पुसमा पहिलो पटक सूचना जारी गरेको थियो ।
तर, पहिलो टेन्डरमा परेका आवेदनहरू मापदण्डभित्र नपरेको भन्दै रद्द गरियो । दोस्रो पटक आह्वान गरिएको टेन्डरमार्फत ‘हिमालय इक्जिम प्रालि’ले ९ चैतमा ठेक्का पायो । सम्झौता त भयो तर सामान भने ‘स्पेसिफिकेशन’ (निर्धारित मापदण्ड) अनुसारको आएन ।
अस्पतालले बायोमेडिकल इन्जिनियरबाट सामान जाँच गराउँदा सम्झौता बमोजिमको गुणस्तर र मापदण्ड नपाइएपछि गत ७ जेठमा ती सामान फिर्ता लैजान सप्लायर्सलाई पत्र काटेको छ । यो प्राविधिक झमेलाले गर्दा अब चालु आर्थिक वर्षभित्र नयाँ खरिद प्रक्रिया सुरु गरेर सामान ल्याउन असम्भव जस्तै छ । जसका कारण विनियोजित १५ लाख बजेट खर्च नभई सरकारी ढुकुटीमै फिर्ता जाने अवस्था सिर्जना भएको छ ।
के भन्छन् जिम्मेवार अधिकारी ?
अस्पतालका मेसु डा. प्रभु साह उपकरण खरिदमा ढिलाइ भएको स्वीकार गर्छन् । ‘हाम्रो अस्पतालमा आफ्नै बायोमेडिकल इन्जिनियर छैनन् । प्रादेशिक अस्पताल भद्रपुरबाट प्राविधिक मगाएर सामान जाँच गराउनुपर्ने हुँदा केही समय लाग्यो,’ डा. साहले भने, ‘गुणस्तरहीन सामान बुझेर भोलि समस्या निम्त्याउनुभन्दा प्रक्रिया पु¥याएरै काम गरौं भन्दा ढिला हुन पुग्यो । यस वर्ष नसकिएपनि अर्को वर्ष प्राथमिकताका साथ यो सेवा सुरु गर्छौं ।’
यता कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले यस विषयमा अस्पतालसँग बुझेर सेवा सुचारुको लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताए । स्वास्थ्य मन्त्रालयका उपसचिव तथा गुनासो सुन्ने अधिकारी निर्मल भट्टराईले मन्त्रालयले अस्पताललाई सेवा सुचारु गर्न पटक–पटक निर्देशन दिएको भएपनि स्पेसिफिकेशन नमिल्दा सामान फिर्ता पठाउनु कानुनी बाध्यता रहेको बताए ।
इलामबाट निर्वाचित प्रदेश सांसद गोविन्द गिरीले अस्पतालको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘अहिले हाम्रै पार्टी (कांग्रेस)बाट स्वास्थ्य मन्त्री हुनुहुन्छ । म भोलि नै मन्त्रीज्यूसँग भेटेर बजेट फ्रिज हुन नदिन र तत्काल उपकरण खरिदको वातावरण मिलाउन पहल गर्नेछु,’ उनले भने ।
दरबन्दी धेरै, सेवा थोरै
इलाम अस्पतालमा हाल नेपाल सरकार र विकास समितिका गरी कुल ११९ जना स्वास्थ्यकर्मी कार्यरत छन् । १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा ९ जना मात्र कार्यरत छन् । अस्पतालमा अर्थोपेडिक, स्त्री तथा प्रसूति र जनरल सर्जरी सेवा उपलब्ध भएपनि अत्यावश्यक मानिने फिजियोथेरापी सेवा जनशक्ति हुँदाहुँदै ठप्प हुनुले सरकारी व्यवस्थापनको फितलो पाटो उदाङ्गो पारेको छ ।
‘सरकारी अस्पतालमा स्वास्थ्यकर्मी हुनु, उपकरण नहुनु र बजेट हुनु तर सही समयमा सामग्री खरिद हुन नसक्नुले प्रशासनिक दक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ,’ इलामका स्थानीय कृष्ण शाहीले भने, ‘अस्पतालमा फिजियोथेरापिस्ट हुनुहुन्छ तर उपचार गर्ने औजार छैन । निजीमा दैनिक ५ सय रुपैयाँ तिर्नुपर्छ ।सरकारीमा ५० रुपैयाँमा हुने काम निजीमा जाँदा १० गुणा बढी खर्च हुन्छ । हामीजस्ता आर्थिक रुपमा विपन्नले कहाँबाट पैसा जुटाउनु ?’