काभ्रेपलाञ्चोक –डाक्टरको परामर्शबिना औषधि बिक्री–वितरण गरेको आरोपमा काभ्रेपलाञ्चोक प्रहरीले दुई औषधि पसलका सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ।
बुधबार बनेपा नगरपालिका–७, चारदोबाटोस्थित नाती काजी प्लाजाको भुइँतलामा सञ्चालित शुभम् फर्मा र सोही क्षेत्रमा रहेको मेडी सेवाफर्मामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रहरीले प्राप्त सूचनाका आधारमा खटिएको टोलीले ती औषधि पसलहरूमा डाक्टरको सिफारिसबिना विभिन्न औषधि बिक्री भइरहेको अवस्थामा फेला पारेको जनाएको छ। अनुगमनका क्रममा पसल सञ्चालक तथा औषधि खरिद गर्न आएका व्यक्तिहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा विभिन्न प्रकारका औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा शुभम्काफर्मा सञ्चालक भक्तपुरको सूर्यविनायक नगरपालिका–५ निवासी ५० वर्षीय बलराम मैल र मेडी सेवाफर्माका सञ्चालक ललितपुरको महांकाल गाउँपालिका–६ निवासी ३३ वर्षीय विनोद बन्जारा रहेका छन्। यस्तै, औषधि खरिद गर्न आएका काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ निवासी २२ वर्षीय सागर आले मगर तथा धुलिखेल नगरपालिका–७ निवासी २६ वर्षीय सुनिल थामीलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीले उनीहरूबाट स्पास्पेन, पेगारोन–१५०, एन्टिकोफ, डिक्लोमिन–२०, मेगालिन–१५० र गाबावेल–१५० लगायतका विभिन्न औषधिहरू बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू तथा बरामद औषधिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग, काठमाडौंपठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रहरीले चिकित्सकको सिफारिसबिना औषधि बिक्री–वितरण नगर्न तथा यस्ता गतिविधिबारे जानकारी भएमा सम्बन्धित निकायलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।