काठमाडौं—योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतले डा. चेतना पौडेल ‘फेक डाक्टर’ नभएको बताएका छन् । बिहीबार संघका तर्फबाट हेल्थआवाजलाई प्रतिक्रिया दिदैं अध्यक्ष डा. बस्नेतले डा. चेतनालाई डाक्टर डिग्री उनी पढेको विश्वविद्यालयले दिएको बताए ।
‘डा. उपाधि उहाँ (डा. चेतना) पढेको युनिभर्सिटीले दिएको हो, उहाँ फेक डाक्टर होइन्,’ डा. बस्नेतले हेल्थआवाजसँग भने, ‘कर्नाटकको ७०० भन्दा बढी कलेजलाई सम्बन्धन दिएको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयले उहाँलाई डा. उपाधि दिएको हो । उहाँले साढे पाँच वर्षको नेचुरोप्याथी एण्ड योगिक साइन्स (बीएनवाईएस) उपाधि हासिल गर्नुभएको छ ।’
तर, एउटा पढेलेखेको र आफ्नो विधामा विज्ञ व्यक्तिलाई नक्कली भनेर सोसल मिडियामा जथाभावी गरिएको भन्दैं उनले दुःख व्यक्त गरे । नेपालमा नेचुरोप्याथी एण्ड योगिक साइन्स सम्बन्धि परिषद् नभएकाले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएर काम गर्नु परिरहेको उनको भनाइ छ ।
‘मेडिकल काउन्सिल, आयुर्वेद काउन्सिलजस्तो हाम्रो नेचुरोप्याथीको काउन्सिल नेपालमा छैन,’ उनले थपे, ‘जसका कारण हामी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएर काम गरिरहेका छौं । नेचुरोप्याथी चिकित्सकका लागि काउन्सिलले आचारसंहिता समेत बनाइदिएको छ ।’ उनले नेपालको कानुनअनुसार काउन्सिलले डाक्टर उपाधि दिन नसक्ने बताए ।
९ असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले गैरकानुनी रुपमा चिकित्सा अभ्यासमा सक्रिय रहेको भन्दैं डा. चेतनालाई पक्राउ गरेको थियो । पक्राउपछि जारी सिआईबीको विज्ञप्तीमा उनलाई ‘नपाएको चिकित्सकको योग्यता प्रयोग गरेको, नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएर बिरामीको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको र बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसहित फेला परेको’ हुँदा पक्राउ गरिएको उल्लेख छ । सिआईबीले पक्राउ गर्नुपूर्व माथि उल्लेखित कारणहरुसहित फेला परेको हुँदा प्रचलित कानुन बमोजिम आवश्यक कारवाही गरिपाउँ भन्ने ब्यवहोराको नेपाल मेडिकल काउन्सिलको प्रतिवेदनपछिको अनुसन्धानलाई पनि पक्राउको कारणका रुपमा उल्लेख गरेको छ ।
तर, डा. बस्नेतले नेचुरोप्याथीको छुट्टै काउन्सिल नभएकाले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको, परिषद्ले नेचुरोप्याथी चिकित्सकलाई बनाएको आचारसंहिताअनुसार आधुनिक निदानमा संलग्न रहेको बताए । ‘निदान सबैले एकै गर्ने हो, सबैको कमन हो,’ उनले भने, ‘बरु, टिट्रमेन्ट गर्ने आ—आफ्नो विधि हो ।’ उनकाअनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषदले नेचुरोप्याथी चिकित्सकहरुलाई बनाएको आचारसंहितामा कुनै पनि प्रयोगशाला र रेडियोलोजी टेष्ट गरेर ब्याख्या गर्न पाउने व्यवस्था आफूहरुलाई रहेको बताए ।
आधुनिक औषधिको प्रेस्क्रीप्सनका सन्दर्भमा भने हेर्नुपर्ने धारणा उनको थियो ।