विराटनगर—विराटनगर–९ मा अवस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टीस्पेशालिटी हस्पिटलमा तीन जना वरिष्ठ विशेषज्ञ चिकित्सकहरुले सेवा दिने भएका छन् । सोमबार हस्पिटलले एक कार्यक्रमको आयोजना गरी नयाँ तीन जना अनुभवी चिकित्सकलाई स्वागत गर्ने तयारी गरेको छ ।
हस्पिटलका उपाध्यक्ष गोविन्द लुइटलेका अनुसार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीप कुमार गुप्ता र यौन, छाला तथा सौन्दर्य विशेषज्ञ डा. अभिनारायण घिमिरेले अब मेट्रो न्यूरो हस्पिटलबाट नियमित सेवा प्रदान गर्नेछन् ।
भित्रिएका चिकित्सकहरुमध्ये डा. ज्ञानेन्द्र गिरी पूर्वाञ्चलकै पहिलो मुटुरोग विशेषज्ञ हुन् । उनले एम्स दिल्लीबाट एमडी, कोलोराडो विश्वविद्यालय अमेरिकाबाट एफएसीसी कार्डियोलोजी फेलोसिप गरेका छन् । डा. गिरीले ४५ वर्षदेखि स्वास्थ्य सेवा दिदैं आएका छन् ।
डा. घिमिरेले छाला तथा यौन रोग सम्बन्धी आधुनिक उपचार सेवा प्रदान गर्दै आएका छन् । डा. घिमिरे ५० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
त्यस्तै, डा. प्रदीपकुमार गुप्ता ट्रमा, अर्थोप्लास्टी र अर्थोस्कोपिक सर्जरीमा विशेषज्ञता हासिल गरेका अनुभवी चिकित्सक हुन् । डा. गुप्ताले २५ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
न्यूनतम शुल्कमा विश्वस्तरीय प्रविधिबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस हस्पिटलले अनुभवी चिकित्सकहरुको थपसँगै सेवाग्राहीले अझ भरपर्दो उपचार पाउने विश्वास लिएको छ । हाल मेट्रो न्यूरो हस्पिटलमा २४ सै घण्टा न्यूरो सर्जरी, अर्थो सर्जरी, नाक–कान घाँटीको अपरेशन, दाँत तथा मुखको शल्यक्रिया, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, भास्कुलर सर्जरी र प्लास्टिक सर्जरी सेवा उपलब्ध छ । साथै, भेन्टिलेटरसहितको न्यूरो आईसीयू , एनआईसीयू र चौबिसै घण्टा प्रसूति सेवा समेत सञ्चालनमा रहेको हस्पिटल प्रशासनले जनाएको छ ।