वीरेन्द्रनगर—जिल्ला अस्पताल कालिकोटबाट हुने स्वास्थ्य बीमा बन्द भएको छ । जिल्ला अस्पताल कालिकोटले सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको हो ।
स्वास्थ्य बीमा कार्यक्रममार्फत निर्धारण गरिएको दररेटअनुसार सेवा दिन नसक्ने भन्दै जिल्ला अस्पताल कालिकोटले बीमामार्फत हुने उपचार सेवा बन्द गरेको जनाएको छ । अस्पतालमा बीमा सेवा बन्द गर्दा सर्वसाधारण मारमा परेका छन् ।
जिल्ला अस्पतालले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको र बीमा बोर्डको दररेटअनुसार सेवा दिन सक्ने अवस्था नभएका कारणले गत २४ जेठदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण सेवा बन्द गरेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महत जानकारी दिए ।
‘लामो समयदेखि बीमाको भुक्तानी नहुँदा अस्पतालमा चरम आर्थिक भार बढेको छ,’ उनले भने, ‘यसले गर्दा अस्पतालको नियमित सेवा सञ्चालन, औषधि खरिद तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको छ ।’