काठमाडौं—मध्यबानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयको मुख्य गेटबाट विपरित दिशामा रहेको भवनको पाँचौ तलामा तीन जना बालरोग विशेषज्ञहरुले बालबालिका सम्बन्धि सुपरस्पेसियालिटी क्लिनिक खोलेका छन् । ‘किड्स क्लिनिक’ नामक उक्त क्लिनिक डा. पुष्पराज अवस्थी, डा. सन्तोष मिश्र र डा. दिलिप न्यौपाने सञ्चालनमा ल्याएका हुन् ।
काठमाडौंको सबैभन्दा बढी जनघनत्व भएको क्षेत्र, ललितपुर भक्तपुरबाट समेत पायक पर्ने स्थान भएकाले मध्यबानेश्वरमा किड्स क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालकहरु बताउँछन् । क्लिनिकको भौतिक पूर्वाधार निर्माणको काम माघ २०८१ बाट सुरु भएको थियो । क्लिनिकको भौतिक पूर्वाधार निर्माण र सेटअपमा ४ महिना लाग्यो । ‘हामीले २८ बैशाख २०८२ बाट औपचारिक रुपमा क्लिनिकको सुरुवात गरेका हौं,’ क्लिनिकका संस्थापकमध्येका एक डा. अवस्थी भन्छन् ।
पेडियाट्रिक क्रिटिकल केयरमा डिएम गरेका डा. अवस्थी, पेडियाट्रिक न्यूरोलोजीमा डिएम गरेका डा. मिश्र र ग्यास्ट्रोइन्टेरोलोजीमा डिएम गरेका डा. न्यौपाने मिलेर बालबालिकाहरुलाई एकै क्लिनिकबाट बालबालिका सम्बन्धि सबै विधाका विशेषज्ञ सेवा उपलब्ध गराउने योजनाका साथ यो क्लिनिक सञ्चालनमा ल्याएका हुन् । हाल क्लिनिक सञ्चालनमा आएको दोस्रो वर्ष सुरु भएको छ ।

‘काठमाडौंमा काम गर्दा धेरै अभिभावकहरुको बच्चालाई धेरै क्लिनिकमा दौडाउनु परेको गुनासो आउँथ्यो, एउटा बच्चालाई एउटा मात्रै बालरोग विशेषज्ञले मात्रै नहुँदो रहेछ,’ डा. अवस्थी भन्छन्, ‘धेरै बालबालिकाहरुलाई मल्टीस्पेसियालिटी केयरको आवश्यकता हुन्छ । बच्चालाई न्युरोलोजी, पोषण, मुटु रोग, ग्यास्ट्रो, इन्फेक्सियस डिजिज, पल्मोनोजीलगायतका सबै विधाका चिकित्सकको सल्लाह आवश्यक पर्दछ, जुन पेडियाट्रिसियनले मात्रै हेरेर हुँदैंन् ।’ यही आवश्यकता परिपूर्ति गर्ने उद्देश्यका साथ ‘किड्स क्लिनिक’ सुरु गरेको उनले जानकारी दिए ।
बालबालिकाको परामर्शसँगै विशेषज्ञ सेवाका लागि आवश्यक सबै उपचार अभिभावकले एकै ठाउँमा रोज्ने भएकाले पनि ‘किड्स क्लिनिक’ सञ्चालनमा ल्याइएको डा. अवस्थी बताउँछन् । ‘किड्स क्लिनिक’ले बालबालिकालाई आवश्यक न्यूरो, ग्यास्ट्रो, इम्युनोलोजी, युरोलोजी, हेपाटोलोजी, नियोनेटल, सर्जिकल, इन्फेक्सीयस डिजिज पल्मोनोलोजी, नियोनेटललगायतका सम्पूर्ण विधाका सेवाहरु एउटै छानामुनिबाट प्रवाह गरिरहेको छ ।
किड्स क्लिनिकले हालैमात्र थप दुई वटा सेवाहरु थप गरेको छ । ‘बालबालिकामा देखिने एलर्जी, इम्युनोलोजिकल समस्या तथा वाथजन्य रोग विशेषज्ञ परामर्श सेवाहरु समेत सुरु गरेका छौं,’ डा. अवस्थीले थपे, ‘बालबालिकाकै नाक, कान, घाँटी रोगको विशेषज्ञ सेवा समेत सञ्चालनमा छ ।’ यसका साथै बालबालिका देखिने मृर्गी रोगको परीक्षणका लागि ईईजीसँगै पेडियाट्रिक रेडियोलोजी सेवासमेत क्लिनिकले उपलब्ध गराइरहेको छ ।
यसका साथै प्रयोशाला पल्मोनरी फङ्सन टेष्टका, पेडियाट्रिक फिजियोथेरापिष्टबाट अकुपेसनल फिजियोथेरापीलगायतका सेवाहरु पनि क्लिनिकले प्रदान गरिरहेको डा. अवस्थीले जानकारी दिए । निकट भविष्यमै क्लिनिकमा पेडियाट्रिक नेफ्रोलोजी, पेडियाट्रिक कार्डियोलोजी र पेडियाट्रिक इन्डोक्राइनोलोजी सेवा थप गर्ने योजना छ । त्यसबाहेक स्पीच थेरापी पनि सुरु गर्ने योजना सञ्चालकहरु छन् ।
किड्स प्ले जोनसमेत रहेको बालबालिकामैत्री ‘किड्स क्लिनिक’को सुरुवाती लगानी झण्डै १२ लाख रुपैयाँ हो । तर, अहिले सेवा विस्तारसँगै लगानी समेत बढ्दै गएको छ । दिउँसो १ बजेदेखि ८ साँझ बजेसम्म सेवा प्रवाह हुने क्लिनिकमा अहिले विशेषज्ञ चिकित्सकबाहेक ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । चिकित्सकसमेत जोड्दा यो संख्या १३ पुग्छ ।