विश्वभर स्वास्थ्य क्षेत्रमा उपचारभन्दा बढी रोग लाग्न नदिने (Preventive Health Care) अवधारणाले प्राथमिकता पाइरहेको छ । जीवनशैलीजन्य रोग, मानसिक तनाव, मधुमेह, उच्च रक्तचाप, मोटोपना तथा अन्य दीर्घरोगहरूको बढ्दो चुनौतीबीच योग तथा प्राकृतिक चिकित्साप्रति विश्व समुदायको आकर्षण निरन्तर बढिरहेको छ ।
तर, विडम्बना नेपालमा भने आफ्नै मौलिक स्वास्थ्य ज्ञान र चिकित्सा पद्धतिले अझै पनि अपेक्षित राज्यस्तरीय मान्यता र संरचनागत विकास पाउन सकेको छैन । योग तथा प्राकृतिक चिकित्सा केवल रोग उपचार गर्ने पद्धति मात्र होइन, यो रोग लाग्न नदिने, स्वस्थ जीवनशैली निर्माण गर्ने र मानिसलाई दीर्घकालसम्म निरोगी राख्ने जीवन विज्ञान हो । आधुनिक स्वास्थ्य प्रणालीले रोग भएपछि उपचार खोज्छ भने योग तथा प्राकृतिक चिकित्साले रोग हुनुअघि नै त्यसको रोकथाममा जोड दिन्छ । यही कारणले विकसित राष्ट्रहरूमा समेत Integrative Medicine र Lifestyle Medicine को अवधारणा तीव्र रूपमा विस्तार भइरहेको छ ।
तर, नेपालमा आजसम्म योग तथा प्राकृतिक चिकित्साका लागि छुट्टै राष्ट्रिय अस्पताल स्थापना हुन सकेको छैन । देशभित्र पर्याप्त शैक्षिक संरचना र मेडिकल कलेजको अभावका कारण हरेक वर्ष नेपाली विद्यार्थीहरू यस विषयको अध्ययनका लागि विदेश जान बाध्य छन् । यसबाट राज्यको ठूलो धनराशी बाहिरिने मात्र होइन, दक्ष जनशक्ति समेत विदेश पलायन हुने अवस्था सिर्जना भएको छ ।
विदेशका मान्यता प्राप्त विश्वविद्यालयबाट अध्ययन पूरा गरी नेपाल फर्किएका विशेषज्ञहरूले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरे पनि पेशागत अभ्यास, नियमन र अधिकारका विषयमा अझै स्पष्टता देखिँदैन् । नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) मा दर्ता हुने व्यवस्था भए पनि योग तथा प्राकृतिक चिकित्साको विशिष्ट पहिचानलाई सम्बोधन गर्ने छुट्टै नियमनकारी संरचना नहुँदा यस क्षेत्रका विशेषज्ञहरूले विभिन्न प्रशासनिक तथा कानुनी जटिलता सामना गर्नु परेको छ ।
योग दिवसको इतिहासले दिने सन्देश
नेपालमा योग दिवसको इतिहास पनि निकै रोचक छ । जानकारहरुकाअनुसार नेपालमा वि.सं २०३६ सालदेखि माघ १ गते डा. हरिप्रसाद पोखरेलको नेतृत्वमा ‘विश्व योग दिवस’ मनाउने अभ्यास सुरु भएको थियो । पछि नेपाल सरकारले माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा औपचारिक मान्यता समेत दिएको छ । तर, पछि संयुक्त राष्ट्रसंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा स्वीकार गरी सन् २०१५ देखि विश्वभर मनाउन सुरु गरियो । उक्त प्रस्तावलाई नेपालले समेत समर्थन गरेको थियो ।
यस घटनाले एउटा महत्वपूर्ण पाठ सिकाउँछ, आफ्नो मौलिक ज्ञान, परम्परा र सम्पदालाई समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न नसक्दा त्यसको नेतृत्व अरूले लिन सक्छन् । त्यसैले योग तथा प्राकृतिक चिकित्सालाई केवल वैकल्पिक विषयका रूपमा होइन, नेपालको स्वास्थ्य नीतिको महत्वपूर्ण अंगका रूपमा विकास गर्न आवश्यक छ।
निरोगी नेपालका लागि आवश्यक कदम
आजको आवश्यकता भनेको विवाद होइन, नीति निर्माण हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानून मन्त्रालय, विश्वविद्यालयहरू, नियमनकारी निकायहरू तथा योग तथा प्राकृतिक चिकित्साका विज्ञहरूबीच समन्वय गरेर यस क्षेत्रको विकासका लागि स्पष्ट राष्ट्रिय रणनीति निर्माण गर्नुपर्छ ।
यसका लागिः
- योग तथा प्राकृतिक चिकित्साको राष्ट्रिय अस्पताल स्थापना
- स्वदेशमै उच्चस्तरीय चिकित्सा शिक्षा र अनुसन्धान केन्द्रको विकास
- स्पष्ट कानुनी तथा नियमनकारी संरचनाको निर्माण
- सरकारी सेवामा आवश्यक दरबन्दी तथा अवसरको सिर्जना
- समुदायस्तरमा योग तथा प्राकृतिक स्वास्थ्य शिक्षाको विस्तार
जस्ता कदमहरू अपरिहार्य देखिन्छन् ।
नेपालले आफ्नै मौलिक स्वास्थ्य ज्ञानलाई सम्मान गर्न सकेन भने भोलिका दिनमा यसको अस्तित्व र नेतृत्व दुवै गुम्न सक्छ। योग तथा प्राकृतिक चिकित्सा कुनै व्यक्ति वा समूहको मात्र विषय होइन्, यो नेपालको स्वास्थ्य सुरक्षा, आर्थिक बचत, रोग रोकथाम र भावि पुस्ताको जीवनशैलीसँग जोडिएको राष्ट्रिय सरोकारको विषय हो ।
निरोगी नागरिक, स्वस्थ समाज र समृद्ध राष्ट्र निर्माण गर्ने हो भने योग तथा प्राकृतिक चिकित्सालाई राज्यले अब उपेक्षा होइन, प्राथमिकता दिनुपर्छ ।