विराटनगर — विराट मेडिकल कलेजको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (HPEd) ले स्वास्थ्य शिक्षा क्षेत्रमा नेतृत्व, नवप्रवर्तन र समावेशिताबारे छलफल गर्न हेपएड–कन २०२६ राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सन् २०१६ मा स्थापना भएको हेपएडले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको हो ।
‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ मूल नारासहित आयोजना हुने हेपएड–कन २०२६ आगामी १, २ र ३ असोजमा तीन दिनसम्म सञ्चालन हुनेछ ।
सम्मेलनमा स्वास्थ्य व्यवसाय शिक्षासँग सम्बन्धित विभिन्न विषयमा छलफल, अन्तरक्रिया तथा परामर्श गरिने हेपएड–कन २०२६ का अध्यक्ष प्रा.डा. हेमसागर रिमाल जानकारी दिए । स्वास्थ्य व्यवसाय शिक्षाको भविष्यमा आवश्यक तालिम तथा शिक्षण प्रणाली, वर्तमान पठन-पाठनमा सुधारका क्षेत्र र नेपालमा प्रचलित स्वास्थ्य शिक्षा प्रणालीलाई समयसापेक्ष तथा विश्वव्यापी मापदण्ड अनुकूल परिमार्जन गर्ने विषयमा सम्मेलनमा प्रस्तुति तथा गहन छलफल हुने जनाइएको छ ।
सम्मेलनमा स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा संलग्न चिकित्सक, नर्स, एलाइड हेल्थ प्रोफेसनल, फिजियोथेरापिस्ट, जनस्वास्थ्य विज्ञ, शिक्षक तथा विद्यार्थी, नीतिनिर्माता र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूको सहभागिता रहनेछ ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती तथा समस्यालाई सम्बोधन गर्दै गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा जनतासम्म पुर्याउन नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रममा नयाँ अवधारणाका रूपमा रहेको दक्षतामा आधारित चिकित्सा शिक्षा (Competency-Based Medical Education–CBME) को कार्यान्वयनका अवसर, चुनौती र प्रभावबारे पनि सम्मेलनमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ ।
नेपालको स्वास्थ्य व्यवसाय शिक्षा तथा सेवा क्षेत्रको सुधारका लागि सम्मेलनबाट नयाँ दिशा र मार्गदर्शन प्राप्त हुने विश्वास आयोजकको छ ।
सम्मेलनमा नेपाल, भारत, श्रीलंका र बेलायतलगायतका देशबाट ३०० भन्दा बढी वरिष्ठ स्वास्थ्य शिक्षा विज्ञ तथा स्वास्थ्य क्षेत्रका विशेषज्ञहरू सहभागी हुनेछन् ।