२०८३ असोज २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा

एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा


विराटनगर -स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित बिराट मेडिकल कलेजको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले आयोजना गरेको ‘एचपीईडी–कन २०२६’ राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

एचपीईडी विभागको १०औँ वार्षिकोत्सवको अवसरमा बुढीगंगा–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल परिसरमा सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् । ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व स् नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलन असोज ३ गतेसम्म सञ्चालन हुनेछ ।

सन् २०१६ मा स्थापना भएको एचपीईडी विभागले आफ्नो स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, फिलिपिन्स र बेलायतलगायत देशका ३ सयभन्दा बढी स्वास्थ्य शिक्षाविद्, विशेषज्ञ तथा प्रशिक्षक सहभागी हुने एचपीईडी विभागका अध्यक्ष एवं सम्मेलनका अध्यक्ष प्रा.डा. हेमसागर रिमालले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा स्वास्थ्य व्यवसाय शिक्षामा देखिएका चुनौती, सुधारका सम्भावना तथा अन्तर्राष्ट्रिय अभ्यासबारे छलफल हुनेछ । अनुसन्धानमूलक प्रस्तुति, अन्तरक्रिया, अनुभव आदानप्रदान तथा परामर्श सत्रसमेत सञ्चालन हुनेछन् ।

सम्मेलनमा चिकित्सक, नर्स, एलाइड हेल्थ प्रोफेसनल, फिजियोथेरापिस्ट, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य शिक्षकलगायत विद्यार्थी, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रशिक्षकको सहभागिता रहेको छ ।

स्वास्थ्य शिक्षा प्रणालीलाई समयानुकूल बनाउँदै अन्तर्राष्ट्रिय मापदण्डसँग मेल गराउने विषय सम्मेलनको मुख्य केन्द्रमा रहने आयोजकले जनाएको छ । दक्षतामा आधारित चिकित्सा शिक्षा, गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा, नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रम सुधारलगायत विषयमा सम्मेलनमा विशेष सत्र सञ्चालन गरिनेछ ।

स्वास्थ्य क्षेत्रमा संलग्न सरोकारवालाले भोगिरहेका चुनौती तथा समस्याको पहिचान र समाधानका उपायबारे समेत सम्मेलनमा छलफल हुनेछ । दक्षतामा आधारित चिकित्सा शिक्षाको कार्यान्वयन, त्यसका चुनौती तथा प्रभावका साथै स्वास्थ्य सेवामा नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रममा नयाँ अवधारणा समेट्ने विषयमा विज्ञहरूले धारणा राख्नेछन् ।

सम्मेलनले नेपालमा स्वास्थ्य व्यवसाय शिक्षा तथा स्वास्थ्य सेवा प्रणाली सुधारका लागि व्यवहारिक सुझाव दिनुका साथै नयाँ सहकार्यका सम्भावना विकास गर्ने आयोजकको विश्वास छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ