जनकपुर—मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत डा. सरोज साहमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार औरही गाउँपालिका—२ का २० वर्षीय विजय मुखिया र जनकपुर उपमहानगरपालिका—८ का २६ वर्षीया सुधिरा मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको हो ।
१ असोजमा प्रहरीले १ असोज साँझ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका रुपमा रहेको प्रादेशिक अस्पताल जनकपुरको वर्थिङ सेन्टरमा बर्थिङका लागि आएकी महिलाका आफन्तले डा. साहमाथि हातपात गरेका थिए । हातपातबाट उनको अनुहारमा चोटपटक समेत लागेको थियो । घटनामा संलग्न अन्य व्यक्तिको समेत प्रहरीले खोजी गरिरहेको छ ।
प्रहरी नायब उपरीक्षक तथा धनुषा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले उनीहरु दुवैलाई घटना लगतै नियन्त्रणमा लिएर जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । उनीहरुमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ (ग) बमोजिम प्रहरीले अनुसन्धान गरिरहेको छ ।
स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
