२०८३ असार २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ

विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ


विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई विभिन्न प्रलोभन र गलत सूचना दिएर निजी अस्पताल पुर्‍याउने १२ जना प्रहरी फन्दामा परेका छन् ।

बुधबार प्रतिष्ठानको इमर्जेन्सी र ओपीडी सेवामा आएका बिरामी तथा आफन्तलाई सरकारीमा उपचार राम्रो नहुने भ्रम छर्दै निजी अस्पताल जान प्रोत्साहित गर्ने गिरोहलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, राजविराज नगरपालिका–६ की २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोकका ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल र मोरङ लेटाङका २९ वर्षीय सान्विन किराँती रहेका छन् । यस्तै, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, इनरुवा–२ का ३१ वर्षीय रोहित मेहता र धरान–११ का १८ वर्षीय विनोद भट्टराई पनि पक्राउ परेका सुनसरी प्रहरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए ।

यसअघि मंगलबार प्रहरीले झापा दमकका ४२ वर्षीय प्रवीण पोखरेल र सुनसरी हरिनगराका २७ वर्षीय दीपक रामलाई नियन्त्रणमा लिएको थियो ।

यसरी गर्थे ठगी

प्रहरीका अनुसार विचौलियाहरूले प्रतिष्ठानका विभिन्न वार्ड, ओपीडी, इमर्जेन्सी कक्ष, रेडियोलोजी र ल्याबमा कुरेर बस्ने गरेका थिए । उनीहरूले उपचारका लागि टाढा–टाढाबाट आएका सोझा–सिधा बिरामीलाई लक्षित गरी ‘यहाँ मेसिन बिग्रिएको छ, डाक्टर छैनन्, पालो आउन हप्तौँ लाग्छ’ भन्दै डराउने गरेको पाइएको छ ।

त्यसपछि उनीहरूले विराटनगर र बिर्तामोडका निजी अस्पतालमा तत्काल उपचार हुने भन्दै बिरामीलाई ललाई–फकाई निजी अस्पताल, नर्सिङ होम वा डायग्नोस्टिक क्लिनिकतर्फ पठाउने र मोटो कमिसन लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका प्रवीण पोखरेल र दीपक रामको साथबाट प्रहरीले विराटनगरस्थित विभिन्न हस्पिटलको भिजिटिङ कार्डहरू फेला पारेको छ । उनीहरूको मोबाइलमा विभिन्न सरकारी अस्पतालका प्रेस्क्रिप्सन, डिस्चार्ज पेपरका तस्बिर, बिरामीको गोप्य विवरण र एम्बुलेन्स चालकहरूको सम्पर्क नम्बरसमेत भेटिएको छ । यसले उनीहरूले संगठित गिरोहकै रूपमा एम्बुलेन्स चालक र निजी अस्पतालका प्रतिनिधिहरूसँग साँठगाँठ गरी काम गरिरहेको पुष्टि गर्छ ।

सुनसरीका डिएसपी खड्काका अनुसार पोखरेल र रामविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बुधबार पक्राउ परेका अन्य १० जनालाई भने इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

विपी प्रतिष्ठानमा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाबाट दैनिक दुई हजार बढी बिरामी उपचारका लागि आउने गर्छन् । चिकित्सकले रेफर गर्नुपर्ने बिरामीलाई बिचौलियाले बीचबाटै अर्कै अस्पताल लैजाँदा प्रतिष्ठानले ठूलो राजस्व गुमाउनु परेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ