विराटनगर– इलामका १२ वर्षीय रिभान श्रेष्ठलाई केही समयअघि अचानक टाउको दुख्न थाल्यो । टाउको दुखाइसँगै उनलाई बान्ता भयो र हेर्दाहेर्दै उनी बेहोस भए । शरीरका हातखुट्टा चल्न छाडे र उनी पूर्ण रूपमा अचेत भए ।
तत्काल उनलाई झापाको बीएमसी पुर्याइयो, जहाँबाट काठमाडौं लैजान रिफर गरियो । तर, परिवारले उनलाई विराटनगरस्थित आर्या न्यूरो हस्पिटल ल्याउने निर्णय गर्यो । रातको करिब २ बजे अस्पताल पुर्याउँदा रिभानको अवस्था निकै गम्भीर थियो ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा निर्देशक डा. पंकजराज नेपालको नेतृत्वमा रिभानको स्वास्थ्य परीक्षण सुरु भयो । सुरुमा सिटी स्क्यान र पछि सिटी एन्जियोग्राफी गर्दा उनमा ‘एभीएम’ (आर्टेरियो भेनस मालफरमेसन) नामक जटिल समस्या देखियो । डा. नेपालका अनुसार यो भनेको मस्तिष्कको धमनी (आर्टरी) र नशा (भेन)को बीचमा हुने रगतको नलीहरूको असामान्य झुप्पो हो, जुन फुट्ने डर निकै बढी हुन्छ ।
‘यो समस्या १०० मा ४–५ जनामा मात्र देखिने दुर्लभ र जटिल रोग हो,’ डा. नेपालले भने, ‘रगतको त्यो झुप्पो फुटेको खण्डमा बिरामीको तत्काल मृत्यु हुन सक्छ वा शरीर सधैंका लागि निकम्मा हुन सक्छ ।’
रिभानको जीवन बचाउन डा. नेपालको टिमले तत्काल शल्यक्रियाको प्रक्रिया अघि बढायो । उपचारका क्रममा उनको टाउकोमा ‘क्लिपिङ’ गरियो, जसले गर्दा पछि फेरि रगत फुटेर समस्या नआओस् । साथै, मस्तिष्कको चाप सन्तुलनमा राख्न ‘ईभीडी’ र ‘बीपी सन्ट’ समेत जडान गरियो ।
करिब दुई महिनाको अस्पताल बसाइँ, फिजियोथेरापी र निरन्तरको चिकित्सकीय रेखदेखपछि रिभान अहिले पूर्ण रूपमा स्वस्थ भएका छन् । हालै तेस्रो पटक फ्लोअपका लागि आर्या न्यूरो हस्पिटल आइपुगेका रिभान आफ्नै खुट्टाले हिँडेर अस्पताल भित्र छिर्दा उनका बुवा रमेश श्रेष्ठको खुसीको सीमा थिएन ।
‘छोराले नयाँ जीवन पायो, यो हाम्रा लागि पुनर्जन्म जस्तै हो,’ बुवा रमेशले भावुक हुँदै भने, ‘आर्या न्यूरोमा समयमै सही उपचार पाएकाले मेरो छोरा निको भयो । यहाँको सेवा र डाक्टरको टिमप्रति म धेरै आभारी छु ।’
पूर्वी नेपालमा यस्ता जटिल शल्यक्रियाहरू सफल हुनुले स्तरीय उपचारका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता कम हुँदै गएको डा. नेपाल बताउँछन् । अहिले रिभानमा छारे रोग वा अन्य कुनै शारीरिक समस्या देखिएको छैन र उनी सामान्य जीवनमा फर्किएका छन् ।