२०८३ असोज ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन


वीरेन्द्रनगर—कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि जनशक्तिको सहज आपूर्ति, उपकरणहरूको सहज उपलब्धता र औषधिको वितरण महत्वपूर्ण भएको बताएका छन् । बिहीबारबाट कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठी तथा कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कर्णालीमा आएको जनशक्ति नटिक्ने र प्रदेशका पाँच वटा हिमाली जिल्लामा सरकारी कर्मचारीहरू जान नचाहने समस्याका कारण ग्रामीण क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज ढंगले पाउन नसकेको मुख्यमन्त्री शाहीले बताए । त्यसका लागि प्रदेश सरकारले सेवा प्रक्रियालाई नियमसंगत बनाउने र विधिमा संचालन हुने गरी कर्मचारीहरूको परिचालन गरिने उनले बताए ।

मानव विकास सूचकहरूमा सबैभन्दा पछाडि रहेको कर्णालीको स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा नागरिकसम्म पुर्‍याउन तीनवटै तहका सरकारहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेको शाहीले बताए । स्थानीय तहसँग आवश्यक समन्वय गरेर काम गर्न र नागरिकलाई दिने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए ।

कर्णाली प्रदेशमा आवश्यक जनशक्तिको चरम अभाव, उपकरण र भौतिक संरचनाहरूको अभावका बीच पनि स्वास्थ्यकर्मीहरूले राम्रो काम गरिरहेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले बताए । सीमित स्रोत—साधनका बाबजुद स्वास्थ्य सूचकहरूमा सुधार हुँदै गएको उनको भनाइ छ ।

कर्मचारीहरूको ओएनएमलगायतका कतिपय कामहरू अन्तिम चरणमा रहेको कर्णाली प्रदेशका प्रमुख सचिव राधिका अर्यालले बताइन् । उनले सबै मन्त्रालय तथा मातहतका कार्यालयहरूलाई आवश्यक सहयोग गरेर, आवश्यकताको आधारमा कर्मचारी विवरण टुंग्याउन सहयोग गर्न आग्रह गरिन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ